लण्डन, कात्तिक ६ । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने हुनुभएको छ । प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत आउन लाग्नुभएको हो ।
नेपाली दूतावास लण्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतस्थित मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ । लण्डनस्थित नेपाली दुतावासकी प्रवक्ता रोशन खनालका अनुसार प्रधानमन्त्री देउवा यही अक्टोबर २९ तारिख, शुक्रबार साँझ लण्डन उत्रिने तयारीमा छन् । देउवाले अक्टोबर ३० तारिख बेलायती मन्त्री र उच्चअधिकारीसँग भेटघाट गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।
प्रधानमन्त्री देउवासँगको भेटघाटका लागि बेलायती मन्त्री र केही सरकारी अधिकारीहरूलाई आग्रह गरिएको छ । तर अहिलेसम्म बेलायत सरकारको तर्फबाट जवाफ नआएको खनालले बताउनु भयो।
भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ। नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार प्रधानमन्त्री देउवाले यहाँस्थित नेपाली कांग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग छुट्टै अन्तरक्रियासमेत गर्ने तयारी अघि बढेको छ ।
प्रधानमन्त्री देउवा ३१ तारिख आइतबार साँझ लण्डनबाट समिट आयोजना हुने ग्लास्गो सहर प्रस्थान गर्ने भ्रमण तालिका तय भएको छ । प्रधानमन्त्री देउवा, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवसहित २० जनाको टोली सो समिटमा भाग लिन नोभेम्वर १ र २ तारिख ग्लास्कोमा रहनु हुनेछ ।
देउवाले समिटमा विश्वमा तीब्र गतिमा हुँदै गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्नुहुनेछ । प्रधानमन्त्रीको टोली ३ नोभेम्बरका दिन ग्लास्गो सहरबाट नेपाल फिर्ता हुने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्