काठमाडौं, १० कार्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने पक्का भएको छ । अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फासँग) नयाँ सम्झौता गर्न सहमत हुनुभएको हो , एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएशन (क्यूएफए)पदाधिकारीसँगको भेटपछि आफू एन्फासँग नयाँ सम्झौता गर्ने निर्णयमा पुगेको अलमुताइरीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । आफूलाई नेपाल फर्काउनका लागि सहयोग गर्ने सबैलाई अलमुताइरीले धन्यवाद भन्नुभएको छ । ‘नयाँ मिसनमा सफलताको कामना गर्दछु । हामी हाम्रो लक्ष्य र आउँदो दुई वर्षको योजना छिट्टै प्रकाशित गर्नेछौँ, मेरो वाचा नेपाली फुटबलको भविष्य राम्रो हुनेछ तर हामीलाई समयमात्र चाहिन्छ’, अलमुताइरीले सामाजिक सञ्जालमा भन्नुभएको छ ।
यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताउनुभएको थियो । यद्यपी साफले प्रतिबन्ध लगाएका कारण उनले नेपाली टिमलाई फाइनल भने खेलाउन पाउनुभएन । साफको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो।
२८ वर्षको साफको इतिहासमा पहिलो पटक फाइनल खेलेको नेपाल उपविजेतामै सीमित बनेको थियो। फाइनलमा नेपाललाई भारतले ३–० ले पराजित गरेको थियो। फाइनलपछि अलमुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि प्रस्थान गरेका थिए। यद्यपी उनी अहिले कतारमै रहेको एन्फा अध्यक्ष शेर्पाले बताउनुभयो ।
फाइनलपछि उहाँले दिएको अन्तर्वार्तामा दुई साता आराम गर्ने र एन्फाले चाहेमा नेपाल फर्कने प्रतिक्रिया दिनुभएको थियो । अलमुताइरी गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको थियो । त्यहिबेला एन्फाले उहाँसँग एक वर्षको सम्झौता भएको बताएको थियो। तर अलुमाइरीले नेपालसँगको सम्झौता यहिँ महिना सकिने भन्दै सार्वजनिक अभिव्यक्त दिनुभएको थियो । अलमुताइरीलाई कतार फुटबल एसोसिएसनले नेपालमा प्रशिक्षण गर्न गत वर्ष पठाएको थियो। नेपाललाई सहयोगस्वरूप प्रशिक्षक उपलब्ध गराएको कतारले नै अलमुताइरीलाई तलब र सुविधा दिने एन्फाको भनाइ छ। एन्फाले नेपालमा रहँदा अलमुताइरीको बस्ने व्यवस्था मिलाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्