जनता टाइम्स

१ पुष २०७८, बिहीबार १८:०१

तनहुँको बन्दीपुरमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द


तनहुँ, १ पुस । जिल्लाको बन्दीपुर गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयका ७ विद्यार्थी र २ शिक्षकलाई कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका ५२ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको विद्यालयका प्रधानध्यापक ऋषिराम ढकालले बताउनुभयो ।

‘विद्यालयले सञ्चलान गरेको होस्टलमा अध्ययनरत कक्षा १० का दुई जना विद्यार्थीलाई गत हप्तादेखि नै कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको थियो’, उहाँले भन्नुभयो, ‘त्यसको केही दिनमा नै अन्य १०र१२ जनामा पनि त्यो लक्षण देखिन थालेपछि गत २८ गते गरिएको परीक्षणमा ९ जनामा कोरोना पोजिटिभ देखियो ।’

एकरदुई हप्तादेखि विद्यालयका अन्य विद्यार्थीलाई पनि ज्वरो आउने, टाउको दुख्ने, पखला लाग्नेजस्ता समस्या देखिएको प्रधानाध्यापक ढकालले बताउनुभयो । अन्य विद्यार्थीहरु पनि उच्च जोखिममा रहेको हुँदा पुस १ देखि ७ गतेसम्मका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

कोरोना पोजिटिभ देखिएकालाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई होम आइसोलेसनमा बस्न लगाइएको छ भने अन्य विद्यार्थीलाई पनि सावधानी अपनाएर घरमै सुरक्षित बस्न भनिएको छ । यस्तै, एकै विद्यालयका शिक्षक विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले आग्रह गर्नुभएको छ ।

आज एक विज्ञाप्ति जारी गर्दै अध्यक्ष थापाले कोरोना संक्रमण जोखिम उच्च बन्दै गएको हुँदा सबै विद्यालयलाई पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी पठनपाठन गराउन आग्रह गरिएको छ । गाउँपालिकाले कोरोनाको जोखिम कायम रहेसम्म शैक्षिक भ्रमण, वार्षिक उत्सव लगायतका उच्च संख्यामा भौतिक उपस्थिति हुने गरी कार्यक्रमहरु नगर्न आग्रह गरेको छ ।