जनता टाइम्स

२७ असार २०८३, शनिबार २०:५९

सानीमदौ सामुदायिक सिकाइ केन्द्रको आयाेजनामा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता


मन्थली, असार २७ । सानीमदौ सामुदायिक सिकाइ केन्द्रद्वारा आयोजित मन्थली नगरपालिका–१ भित्र रहेका विद्यालयहरूबीचको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।

सिकाइ केन्द्रका अध्यक्ष तीर्थ सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख ईश्वरी बस्नेत र नगर प्रवक्ता गोपाल श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमको सञ्चालन सिकाइ केन्द्रकी कोषाध्यक्ष सोविता न्यौपानेले गर्नुभएको थियो भने हाजिरीजवाफ प्रतियोगिताको सहजीकरण केन्द्रका अध्यक्ष तीर्थ सुवेदी स्वयंले गर्नुभएको थियो ।

प्रतियोगितामा लिट्टिल स्टार इङ्लिस स्कुलले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी, तामाकोशी अंग्रेजी बोर्डिङ स्कुल दोस्रो र मन्थली माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । साथै, प्रतियोगितामा सहभागी विद्यालयहरूलाई कदरपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, प्रतिभा र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।