भक्तपुर, असार २९। भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका चारवटै स्थानीय तहका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि त विशेष समारोहबीच भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयाे ।
भक्तपुर यसअघि २०७५ सालमा पहिलोपटक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको थियो। त्यसयता दिगोपनाका सूचक, नियमित अनुगमन तथा सेवा निरन्तरताका आधारमा पुनः मूल्याङ्कन हुँदै आएको छ। गत वर्षसमेत घोषणा गरिएको भए पनि नियमित मूल्याङ्कन प्रक्रियाअन्तर्गत जिल्लाका चारै नगरपालिकाले आवश्यक मापदण्ड पूरा गरेपछि यस वर्ष पुनः औपचारिक घोषणा गरिएको हो।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री थापाले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको प्रारम्भिक पहिचानका लागि महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको टोली परिचालन गरी नागरिकको घरदैलोमै स्वास्थ्य सेवा पुर्याइने जानकारी दिनुभयो।
उहाँले रोकथाममूलक स्वास्थ्य सेवालाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै अब समुदायमै पुगेर रोगको प्रारम्भिक पहिचान तथा आवश्यक परामर्श सेवा विस्तार गरिने बताउनुभयो।
मन्त्री थापाले भक्तपुर अस्पतालमा छिट्टै कार्डियोलोजी अर्थात् मुटुरोगसम्बन्धी सेवा सञ्चालनमा ल्याइने जानकारीसमेत दिनुभयो। प्रदेशवासीलाई विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै जिल्लामा उपलब्ध गराउने लक्ष्यअनुसार अस्पतालहरूको क्षमता विस्तार भइरहेको उहाँको भनाइ छ।
उहाँका अनुसार ख्वोप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन खरिदका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ। उपकरण सञ्चालनमा आएपछि बिरामीले एमआरआई परीक्षणका लागि अन्य जिल्ला धाउनुपर्ने बाध्यता कम हुने र समयमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले स्वास्थ्य मन्त्री र मन्त्रालयका सचिव भक्तपुरकै रहनुभएकाले जिल्लालाई स्वास्थ्य सेवाको ‘हब’का रूपमा विकास गर्न पहल भइरहेको बताउनुभयो।
उहाँले भक्तपुर अस्पताल मुलुकभरकै उत्कृष्ट अस्पताल बन्न सफल भएको उल्लेख गर्दै जिल्लामा स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवाको थप विस्तार आवश्यक रहेको धारणा राख्नुभयो।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले पूर्ण खोप सुनिश्चितताको घोषणा आफैँमा महत्वपूर्ण उपलब्धि भए पनि त्यसको दिगोपना कायम राख्नु अझ ठूलो जिम्मेवारी र चुनौती रहेको बताउनुभयो।
उहाँले खोप लगाउने उमेर पुगेका कुनै पनि बालबालिका खोप सेवाबाट छुट्न नहुनेमा जोड दिनुभयो। नियमित खोप कार्यक्रम प्रभावकारी बन्दा बाल मृत्युदरमा उल्लेखनीय कमी आएको उल्लेख गर्दै उहाँले उपलब्ध तथ्याङ्कअनुसार बाल मृत्युदर घटाउन खोप कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।

जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काका अनुसार जिल्लामा शून्यदेखि १६ महिनासम्मका पाँच हजार ५० बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। तीमध्ये भक्तपुर नगरपालिकाका ८०८, मध्यपुर थिमी नगरपालिकाका एक हजार ३७८, सूर्यविनायक नगरपालिकाका एक हजार ७५० र चाँगुनारायण नगरपालिकाका एक हजार ११४ बालबालिका रहेका छन्।
त्यस्तै, १६ देखि २३ महिनासम्मका पाँच हजार ६८४ बालबालिकाले पनि सबै आवश्यक खोप प्राप्त गरेका छन्। यस उमेर समूहमा भक्तपुर नगरपालिकाका ४८९, मध्यपुर थिमीका दुई हजार ८३६, सूर्यविनायकका एक हजार ३८९ र चाँगुनारायणका ९७० बालबालिका रहेका छन्।
प्रमुख खड्काले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था, स्थानीय तह तथा समुदायको सक्रिय सहकार्यका कारण जिल्लाले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गर्न सफल भएको बताउनुभयो। आगामी दिनमा समेत कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने अवस्था सुनिश्चित गर्न निरन्तर काम गरिने उहाँको भनाइ छ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सुजाता बाडेले पूर्ण खोप सुनिश्चितता घोषणा उपलब्धिको अन्त्य नभई थप जिम्मेवारीको सुरुआत भएको बताउनुभयो।
उहाँले नियमित अनुगमन, जनचेतना अभिवृद्धि र खोप सेवा विस्तारमार्फत पूर्ण खोप सुनिश्चितताको दिगोपना कायम राख्न सबै सरोकारवाला निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन महत्वपूर्ण योगदान पुर्याउने चारै नगरपालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य मन्त्री थापाले सम्मान गर्नुभएको थियो।
भक्तपुर पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएसँगै बाल स्वास्थ्यका क्षेत्रमा अग्रणी जिल्लाका रूपमा स्थापित भएको छ। अब नवजात शिशुदेखि लक्षित उमेर समूहका सबै बालबालिकालाई नियमित रूपमा खोप सेवा उपलब्ध गराउँदै हासिल भएको उपलब्धिलाई दीर्घकालीन बनाउने जिम्मेवारी सम्बन्धित सबै निकायमाथि थपिएको छ।













प्रतिक्रिया दिनुहोस्