काठमाडौं, असार २३ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर देवेन्द्र खत्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले मंगलवार डाक्टर खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष छनोट समितिले डाक्टर खत्रीसहित डाक्टर प्रमोद यादव र डाक्टर श्रीकृष्ण गिरीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गर्नुभयो । यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।
सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डाक्टर अञ्जनीकुमार झालगायतका पदाधिकारीहरू पदमुक्त भएका थिए। त्यसपछि खाली रहेको उक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।
चिकित्सा क्षेत्रमा लामो अनुभव संगालेका नवनियुक्त उपाध्यक्ष डाक्टर खत्री विसंं २०७७ पुसमा नेपाली सेनाको प्राविधिकतर्फ उपरथीमा पदोन्नति हुनुभएको थियो । खत्रीले सेनाको स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकका रूपमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
यसका साथै खत्रीसँग वीरेन्द्र सैनिक अस्पतालमा लामो समय वरिष्ठ चिकित्सक र मेडिसिन विभागको विभागीय प्रमुखका रूपमा काम गरेको अनुभव छ।













प्रतिक्रिया दिनुहोस्