जनता टाइम्स

२१ माघ २०७८, शुक्रबार १९:२०

हावाहुरी र वर्षाले मधेश प्रदेशमा लियो ३ जनाको ज्यान


काठमाडौं, माघ २१ । अविरल वर्षा तथा हावाहुरीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ । त्यस्तै हावाहुरीले रुख भाँच्चिएर लाग्दा धनुषामा २ जना र वर्षाका कारण घर भत्किँदा रौतहटमा १ जनाको मृत्यु भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण घर भत्किँदा घरमा च्यापिएर रौतहटको बौधीमाई नगरपालिका १ अजगैबी बस्ने ४५ वर्षीया फुलमतिया देवीको शुक्रबार दिउँसो मृत्यु भएको छ। यस्तै, धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन उच्च माविको प्राङगणमा रहेको भिस (मसाला) को रूख हावाहुरीको कारण भाँच्चिदा रुखमा च्यापिएर २ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रूखमा च्पापिएर सोही ठाउँ बस्ने महेन्द्र सादाकी छोरी ८ वर्षीया प्रतिमा कुमारी सादाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चन्देश्वर सादाको छोरा ७ वर्षीय अरबिन्द सादाको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।