पर्सा, असार १४ । सुरक्षा निकायलाई पूर्वजानकारी नदिइ छड्के गर्न पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाको सिर्सिया नाकामा पुग्नुभएका गृहमन्त्री सुदन गुरुङलाई स्थानीयहरूले तस्करीको बारेमा गुनासो गरेको भिडियो सार्वजनिक भएको छ। स्थानीयले सशस्त्र प्रहरीको बिषयमा बढी गुनासो गरेका छन ।
शनिबार दिउँको सिर्सिया पंटोका नाकामा पुगेका गृहमन्त्रीलाई सुरेन्द्र साह नाम गरेका स्थानीयले अहिले पनि भारततर्फ चारवटा मोटरसाइकलमा तस्करीको सामान लोड गरेर राखिएको र तपाईँहरू हिँडेपछि तस्करीको सामान लोड गरेको मोटरसाइकल भित्रिने गुनासो गरिरहेको भिडियोमा सुन्न सकिन्छ।
सुरेन्द्रको गुनासो सुनेर गृहमन्त्री गुरुङले एक जनालाई भारत तर्फ गएर हेरेर आउन भनेको त्यस भिडियोमा देख्न सकिन्छ। त्यही स्थानमा रहेका मुकेश साह नाम गरेका अर्का स्थानीयले नाकामा जडान गरिएको सिसी क्यामेराको पोल देखाउँदै त्यसकै आडमा सशस्त्रको डिएसपीले तस्करी गराउने गरिएको गृहमन्त्रीलाई पोल र सिसि क्यामरा देखाउँदै गुनासो गरेका हुन ।
शनिबार दिउँसो १ बजेतिर सिर्सिया नाकामा पुगेका गृहमन्त्री दिउँसो ३ बजेतिर त्यहाँबाट फर्केको बताइएको छ।सुरक्षाकर्मीहरूलाई अत्यन्त गोप्य राख्ने गरी उच्च तहमा पूर्वजानकारी दिएर गृहमन्त्री गुरुङ सो नाका पुग्नुभएको थियो । अनुगमनका क्रममा गृहमन्त्रीले नाका क्षेत्रका स्थानीय नागरिकसँग सीमापार तस्करीका विषयमा सोधपुछ समेत गर्नुभएको छ ।
स्थानीयको कुरा सुनेपछि गृहमन्त्री गुरुङले ‘सिसी क्यामेराको निगरानी कहाँबाट हुन्छ ?’ भनी प्रश्न गर्नुभएको थियो । जवाफमा स्थानीयले सशस्त्रको क्याम्प भनेर जवाफ दिएका छन्। सिर्सिया नाकालाई सशस्त्र प्रहरीको विओपी ड्राइपोटले हेर्ने गरेको छ। यस क्षेत्रका सशस्त्र प्रहरीका डिएसपी गोबिन्द केसी कमाण्डर रहेका सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगन्ज, पर्साले जनाएको छ।
सिर्सिया नाकाबाट अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई महिनावारी दिएर वीरगन्जका अधिकांश तस्करहरू भारतबाट अवैध रूपले मालसामान भित्र्याउँदै आएका छन्। कालो टोपी, मास्क, चस्मा र हाफ टिसर्टमा सीमा क्षेत्र पुगेका गृहमन्त्री गुरुङसँग स्थानीयले सुरक्षाकर्मीहरूकै मिलेमतोमा तस्करी भइरहेको जानकारी गराएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन सकेर शुक्रबार बाराका विभिन्न नाकाहरूको छड्के गरेका गृहमन्त्रीले शनिबार पर्साको विभिन्न सीमा नाकाहरूको अनुगमनमा निस्किएका थिए। बारा र पर्साका नाकाहरूको छड्के गरेको बारेमा सुरक्षा अधिकारीहरूले समेत पत्तो नपाएको पाइएको छ।













प्रतिक्रिया दिनुहोस्