जनकपुरधाम, जेठ ९ । कृष्ण प्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेको छ । शुक्रबार बसेको मधेस प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले संविधानअनुसार विश्वासको मत लिनु भएको हो ।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम उहाँले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख राम आशिष यादव ले जानकारी दिनुभयो ।
प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत परेको सभामुख यादवले घोषणा गर्नुभयो । हाल मधेस प्रदेशसभामा १०२ सदस्य कायम रहेका छन् ।
मुख्यमन्त्री यादवको पक्षमा नेकपा एमाले का २४, नेपाली कांग्रेस का २२, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १४ तथा नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसदले मतदान गर्नुभएको थियो ।
यस्तै विपक्षमा जनता समाजवादी पार्टी नेपाल का २५, जनमत पार्टीका १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक तथा नागरिक उन्मुक्ति पार्टीका एक सांसदले मतदान गरेका थिए ।
यसअघि वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेस सरकार अल्पमतमा परेको थियो । त्यसपछि जेठ १ गते मुख्यमन्त्री यादवले विश्वासकाे मत लिन खाेज्नु भएकाे भए पनि नेपाली कांग्रेस भित्र ‘फ्लोर क्रस’ हुने आशंकाका कारण सरकार थप दबाबमा परेको थियो ।
त्यतिबेला सरकारलाई जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसको समर्थन रहेको थियो । तर बिहीबार राति नेकपा एमाले सरकारमा सहभागी हुने सहमति भएपछि मधेस प्रदेश सरकारको राजनीतिक समीकरण फेरिएको हो । नयाँ समीकरणअनुसार अब एमाले, कांग्रेस र नेकपाको संयुक्त सरकार बनेको छ ।
यसैबीच मोहम्मद समीर बिहीबार राति नेकपा एमालेको तर्फबाट विना विभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी भइसक्नुभएको छ ।
हाल मधेस प्रदेशसभामा नेपाली कांग्रेस का २२, नेकपा एमाले का २४, जनमत पार्टी का १२, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १५, जनता समाजवादी पार्टी नेपाल का २६ तथा अन्य साना दलका सांसद रहेका छन् । जसपा नेपालका अभिराम शर्मा र सरोजसिंह कुश्वाहा निलम्बित अवस्थामा छन् भने केही सांसद प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिइसकेका छन् ।













प्रतिक्रिया दिनुहोस्