जनता टाइम्स

८ जेष्ठ २०८३, शुक्रबार १०:२९

एमाले सत्तामा सहभागि भएँगै मधेसका मुख्यमन्त्रीले आज विश्वासकाे मत लिँदै


काठमाडौं, जेठ ८ । मधेश प्रदेश सरकारमा एमाले पनि सहभागि भएसँगै मुख्यमन्त्री  कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । बिहीबार राति नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच नयाँ राजनीतिक सहमति बनेपछि सरकारको समीकरण फेरिएको हो ।

नयाँ सहमतिअनुसार एमाले सरकारमा सहभागी भए भएपछि मुख्यमन्त्री यादवले पुनः बहुमत पुष्टि गर्न प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको हो । यसका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

यसअघि गत वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । त्यसपछि जेठ १ गते विश्वासको मत लिने प्रयास भए पनि सरकार आवश्यक समर्थन जुटाउन असफल भएको थियो ।

त्यतिबेला नेपाली कांग्रेसभित्रै ‘फ्लोर क्रस’ हुन सक्ने आशंकाका कारण सरकार थप दबाबमा परेको थियो । सोही कारण सत्ता गठबन्धनले विश्वासको मत प्रक्रियालाई सुरक्षित ढंगले अघि बढाउन सकेको थिएन ।

यसअघि सरकारलाई जनता समाजवादी पार्टी नेपाल, नेकपा र नेपाली कांग्रेसको समर्थन रहेको थियो । तर पछिल्लो सहमतिपछि मधेश प्रदेशको राजनीतिक समीकरण फेरिँदै एमाले, कांग्रेस र नेकपाको संयुक्त गठबन्धन बनेको छ ।

हाल मधेश प्रदेशसभामा १०२ सदस्य कायम रहेका छन् । जसमध्ये नेपाली कांग्रेसका २२, एमालेका २४, जनमत पार्टीका १२, नेकपाका १५ तथा जसपा नेपालका २६ सांसद रहेका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

यसअघि १०७ सदस्यीय रहेको प्रदेशसभामा जसपा नेपालका अभिराम शर्मा र सरोजसिंह कुश्वाहा निलम्बनमा छन् । त्यस्तै जनमत पार्टीका सतिशकुमार सिंह, एमालेका पूर्वसभामुख रामचन्द्र मण्डल तथा नेकपाका भरतप्रसाद साह र रहवर अन्सारी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि प्रदेशसभा सदस्य पदबाट बाहिरिएका थिए ।

प्रदेशसभाका सभामुख रामअशिष यादव मतदान प्रक्रियामा सहभागी नहुने भएकाले बहुमत गणनामा उहाँको मत समावेश हुने छैन ।