जनता टाइम्स

१९ पुष २०८२, शनिबार १८:०५

बारा-३ मा एमालेले चुनावबाट छान्यो उम्मेदवार, अध्यानन्द पाण्डेलाई शतप्रतिशत मत


काठमाडौं,  पुस १९ ।  नेकपा (एमाले)ले बारा–३ बाट मतदान गरेर उम्मेदवार छानेको छ। एक महिलासहित तीन जना सिफारिस गर्नुपर्ने अवस्थामा सहमति नजुटेपछि बारा–३ मा मतदान गरेर एमालेले उम्मेदवार सिफारिस गरेको हो।

यसबाट अध्यानन्द पाण्डे, यम समुल्लाह र सीमा ठकुरी सिफारिस हुनुभएको छ । एमाले बारा जिल्ला अध्यक्ष समेत रहेका पाण्डेले शत प्रतिशत मत पाएर पहिलो नम्बरमा सिफारिस हुनुभएको छ ।

दोस्रो नम्बरमा ३७ मत ल्याएर यम समुल्लाह र ३६ मत प्राप्त गर्दै सीमा ठकुरी उम्मेदवार सिफारिस हुनुभएको छ ।

निर्वर्तमान सांसद ज्वाला साहले ४ मत पाउनुभएको छ। त्यस्तै टीना सुवेदीले शून्य, सीता सुवेदीले १, गायत्रीदेवी साहले ५ मत पाएको क्षेत्रीय कमिटीका एक सदस्यले जानकारी दिनुभयो ।

पार्टीको वडा कमिटी अध्यक्ष, पालिका कमिटीका पदाधिकारी र बारा–३ क्षेत्रमा प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यहरू मतदाता रहेका थिए।