जनता टाइम्स

२७ चैत्र २०७८, आईतवार २२:०९

जेष्ठ नागरिकहरुले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको एमाले अध्यक्ष ओलीको भनाई


काठमाडौं, चैत्र २७ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको बताउनुभएको छ ।

 आइतवार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लागेको बताउनुभएको हो । उहाँले केही समयपछि कर्मचारीले तलव पाएनन् र जेष्ठ नागरिकहरुले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गर्नुभयो ।

देशको अवस्था यस्तो हुँदापनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले एमालेले चुनावको वसन्तको याम पर्खिरहेको भन्दै चुनावपछि एमाले ढुंगाको काप फोरेर उम्रिने बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउदै लगेको बताउनुभयो । उहाँले देश असफल राष्ट्रतिर जाने अवस्था आउन लागेको पनि उल्लेख गर्नुभयो । उहाँले देशमा चरम भ्रष्टता छाएको पनि उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई जिवनोपयोगी शिक्षा दिनका लागि शिक्षकहरुलाई आग्रह पनि गर्नुभयो ।