अछाम, ३० चैत । अछाममा तीर्थ गएका एक पुरुषको डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–६ का हरिप्रसाद भण्डारीका छोरा करिब ५२ वर्षका वेदप्रसाद भण्डारीको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो । मङ्गलसेन नगरपालिका(३ मा कैलाशखोला र बुढीगंगा नदीको दोभान जिमराडीमा नुहाउने क्रममा नदीको भंगालोमा परी डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले बताउनुभयो ।
आज दिउँसो करिब ३ बजेको समयमा डुबेर मृत्यु भएको घटनास्थलमा रहेका बालकृष्ण भण्डारीले जानकारी दिनुभयो । मृतक भण्डारी पूर्व शिक्षक तथा पूर्व प्रधानपञ्चसमेत हुन् । स्थानीय गंगा माद्यामिक विद्यालयका पूर्व प्रधानाध्यापकका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएको थियो ।
हाल ठुलासैन बजारमा व्यापार व्यवसाय गर्दै आएका भण्डारीको निधनले सिंगो गाउँ शोकमा परेको छ । तीर्थ जान भन्दै मंगलबार घरबाट हिँडेमा भण्डारीसहित गाउँबाट करिब ३०/४० जनाको टोली आज तीर्थस्थल जिमराडीमा पुगेको थियो । उहाँलाई बचाउन गएका अन्य दुई जना सामान्य घाइते भएका जनाइएको छ ।
उक्त स्थानमा गत चैत्र ३ गते मलामी गएका मङ्गलसेन ३ लाछिमानाका करिब २८ वर्षका पुरुष मीन बहादुर ढोलीको पनि अस्तु सेलाउने क्रममा डुबेर मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक गंगादत्त बडूको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको अछाम प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्