जनता टाइम्स

१४ बैशाख २०७९, बुधबार १९:५६

स्वतन्त्र उम्मेदवार उठाएको भन्दै माधवका कार्यकर्ताले गरे दलित युवकको हत्या


सप्तरी, बैशाख १४ । स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा सप्तरीको खडक नगरपालिका ४ मा एक दलित युवकको हत्या भएको छ ।

आसन्न स्थानीय निर्वाचनका लागि सोही नगरपालिकाको ४ नम्बर वडाअध्यक्षमा स्वतन्त्रबाट महादेव पासवानले मनोनयन दर्ता गराउनु भएको थियो । उहाँलाई उम्मेदवार बन्न सघाएको भन्दै त्यही दिन राति स्थानीय २५ वर्षीय सन्तलाल पासवानमाथि आक्रमण गरियो ।

स्थानीयका अनुसार रडको आक्रमणबाट सन्तलालको टाउकोमा गम्भीर चोट लागेको थियो । आक्रमण लगत्तै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा उनको गएराति मृत्यु भएको हो । उहाँको मृत्युपछि आक्रोशित स्थानीयले आज पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेर सवारी अवरुद्ध पारेका छन् । प्रशासनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ । दलित अगुवा राजदेव रामले स्वतन्त्र उम्मेदवार खडा गरेकै निहुँमा सन्तलालको हत्या गरिएको बताउनु भयो ।

‘स्वतन्त्र उम्मेदवार बन्नु हरेक नेपाली नागरिकको अधिकार हो’, उहाँले भन्ननुभयो, ‘उम्मेदवार खडा गरेकै निहुँमा सन्तलाललाई चौधरी समुदायका व्यक्तिहरूले धाकधम्की दिएका थिए । तर, उनीमाथि आक्रमण गरी हत्या भएको छ । यो अक्षम्य घटनाको प्रशासनले सुक्ष्म अनुसन्धान गरी दोषमाथि कडा कारबाही गर्नुपर्छ ।’

उनका अनुसार खडक नगरपालिकाको ४ नम्बर वडामा ७,८ सय दलित मतदाता छन् । आफूहरूकै बाहुल्यता रहेको वडामा कुनै पार्टीले उम्मेदवार नबनाएको भन्दै दलित समुदाय असन्तुष्ट थिए । स्वतन्त्र उम्मेदवारी दिएका दलित युवक महादेव दास भन्नुहुन्छ, ‘उम्मेदवारी दिएर घर फर्केको राति टोलमा तीन ठाउँमा जन्ती आएको थियो । डिजे बाजाको विषयमा झगडा भयो । मलाई उम्मेदवार बनाएपछि केही व्यक्ति रिसाएकै थिए ।’

सन्तलाललाई कुटपिट गरेकै राति आफूलाई पनि आक्रमण गर्न दुई युवक घरमा आएको र बुबा कराउन थालेपछि ज्यान जोगाएको महादेवले बताए । उम्मेदवारी फिर्ता लिन अहिले पनि ठूला पार्टीका नेताहरुले दबाब दिइरहेको उहाँले सुनाउनु भयो ।

सन्तलालको हत्यामा निवर्तमान वडाध्यक्ष गंगाराम चौधरीका छोरा विवेक चौधरी, शिक्षक दिलिप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी लगायतका व्यक्तिको संलग्नता रहेको पीडित परिवारको आरोप छ । स्वतन्त्र उम्मेदवार दासले पनि घटनामा निवर्तमान वडाध्यक्ष गंगारामको हात रहेको टिप्पणी गर्नुभयो । गंगाराम नेकपा एसबाट वडाध्यक्षको उम्मेदवार हुन ।

दुई वर्षअघि बिहे गरेका सन्तलालको एक वर्षकी छोरी, श्रीमती र आमाबुबा छन् । उहाँको शव अहिले विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिस्टर सिंहले गाउँमा जन्ती लिएर आएको डिजे बाजाको विषयमा विवाद भएपछि सन्तलाल कुटिएको र उपचारको क्रममा मृत्यु भएको बताउनु भयो ।