सन्धिखर्क, १५ वैशाख । सन्धिखर्क नगरपालिकाको नगर प्रमुख बन्ने लक्ष्यसहित पाँच जना निर्वाचन प्रचारप्रसारमा लागेका छन् । सबै पाँच उम्मेदवार आफू जित्नेमा ढुक्क छन् । नेकपा एमालेबाट कृष्णप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसबाट शान्ता भण्डारी, विवेकशील साझा पार्टीबाट सूर्यप्रसाद श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवराज भुसाल र राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समितिबाट राजेन्द्र नेपाली नगर प्रमुखको प्रतिस्पर्धामा छन् ।
को कति जितको नजिक ?
कृष्णप्रसाद श्रेष्ठ, नेकपा एमाले
नेकपा एमालेले अघिल्लो पटककै उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठलाई दोहोर्याएको छ । श्रेष्ठले पनि कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी भण्डारीलाई तुलनात्मक रुपमा कमजोर ठानेको बताउनुभएको छ । यसअघि नगरको नेतृत्व कांग्रेसले गर्दा भए गरेका कमी कमजोरीमा टेकेर एमालेले विजयी हासिल गर्ने योजना बनाएको छ ।
एमाले यो नगर विकासको एजेन्डा आफूसँग मात्रै रहेकोले जनताले विगतको कमजोरी नदोहोर्याउने जनाएको छ । हिजो माओवादीको बलमा कांग्रेसले जितेकोमा आज टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्कासँगै अधिकांश माओवादी नेता तथा कार्यकर्ता एमालेमै रहेकाले जित सहज भएको श्रेष्ठको दाबी छ ।
शान्ता भण्डारी, नेपाली कांग्रेस
सत्ता गठबन्धनले यस पटक नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सदस्य समेत रहेकी नेतृ शान्ता भण्डारीलाई नगर प्रमुखमा अगाडि सारेको छ । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रको समर्थनमा चुनाव लडेका कांग्रेसका उम्मेदवार कमलप्रसाद भुसालले निकटतम प्रतिद्वन्दी कृष्णप्रसाद श्रेष्ठलाई एक हजार एक सय तीन मतले पछाडि पार्दै आठ हजार दुई सय ३० मतका साथ निर्वाचित भएका थिए ।
यस पटक पनि सन्धिखर्कमा कांग्रेस सहजै जित्ने दाबी गरेको छ । नगरको चौथो दल राष्टिय जनमोर्चाको मात्रै होइन, एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीको समेत साथ पाएको कारण जित्न थप सहज हुने नगर प्रमुखकी उम्मेदवार शान्ता भण्डारीको भनाइ छ । अझ अघिल्लो निर्वाचनमा आफूहरूले नै पराजित गरिसकेको उम्मेदवारले आफुहरूसँग प्रतिस्पर्धा नै गर्न नसक्ने कांग्रेसको दाबी छ ।
सूर्यप्रसाद श्रेष्ठ, विवेकशील साझा पार्टी
सूर्य श्रेष्ठ सन्धिखर्क नगरपालिकाको लागि नयाँ अनुहार हो । उहाँले विवेकशील साझा पार्टीको तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिनुभएको छ । पूराना पार्टीबाट आजित भइसकेका कारण यस पटक मतदाताले विकल्प खोज्नेमा उहाँ आशावादी हुनुहुन्छ । खासगरी नगरलाई भ्रष्टाचारमुक्त बनाउँदै गुणस्तरीय शिक्षा र स्वास्थ्यको निःशुल्क व्यवस्थाको लागि पनि मतदाताले आफूलाई मत दिनुपर्ने उहाँको भनाइ छ ।
ध्रुवराज भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी
अघिल्लो निर्वाचनमा नगरप्रमुखमै लडेका भुसाल यो पटक पनि चुनावी मैदानमा छन् । सन्धिखर्क नगरपालिका-५ निवासी भुसाललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले नगरप्रमुखको उम्मेदवार बनाएको छ । विगतको निर्वाचनमा एक सय ६५ मत प्राप्त गरेका भुसाल यो पटक मतदाताको माया पाउने विश्वासमा छन् । हिन्दू राष्ट्र कायम गराउन राप्रपानै चाहिने र वैकल्पिक शक्तिको रुपमा उदाउँदै गरेको राप्रपाको कारण पनि नगरवासीबाट आफूले सम्मानजनक मत पाउने भुसालको विश्वास छ ।
राजेन्द्र नेपाली, राष्ट्रिय जनमोर्चा
सन्धिखर्क नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका नेपाली सन्धिखर्क नगरपालिका–१ का स्थाई बासिन्दा हुन् । राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समितिका अध्यक्ष समेत रहेका नेपालीले यस पटक स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यसपटक जनताको रोजाईमा पर्ने नेपालीको विश्वास छ । गत निर्वाचनमा जनमोर्चाकी नेतृ पोख्रेलले नगरप्रमुख पदमा पाँच सय ७८ मत प्राप्त गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्