काठमाडौं, वैशाख २४ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विभिन्न प्रशासनिक तथा नीतिगत निर्णय गरेको हो।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुका अनुसार बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। त्यसैगरी जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ।
यस्तै अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ स्थित चापटारीमा कायम गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ। स्थानीय तहको प्रशासनिक केन्द्र निर्धारणसँग सम्बन्धित उक्त निर्णयलाई क्षेत्रीय प्रशासनिक व्यवस्थापनसँग जोडेर हेरिएको छ।
त्यसैगरी मन्त्रिपरिषद्ले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको ‘अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृति सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ। उक्त कार्यविधिले प्रदेश सरकारअन्तर्गतका कर्मचारीहरूको अध्ययन अनुमति तथा अध्ययन बिदा व्यवस्थापनलाई थप व्यवस्थित बनाउने बताइएकाे छ ।
बैठकले प्रदेश प्रशासनिक परिसरभित्र नवनिर्मित भवनबाट सेवा प्रवाह सञ्चालन गर्न आवश्यक फर्निचर तथा फिक्स्चर्स व्यवस्थापनका लागि बजेट फुकुवा गर्ने निर्णय पनि गरेको छ। प्रदेश सरकारका कार्यालयहरूलाई नयाँ भवनबाट नियमित सेवा सञ्चालन गर्न सहज बनाउने उद्देश्यले उक्त निर्णय गरिएको जनाइएको छ।
प्रदेश सरकारका प्रशासनिक संरचना व्यवस्थापन, कर्मचारी जिम्मेवारी हेरफेर तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रिपरिषद्ले एकैपटक विभिन्न निर्णय गरेको हो।













प्रतिक्रिया दिनुहोस्