काठमाडौं, २६ वैशाख । गैरआवासीय नेपाली संघअन्तर्गतको एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य–सचिव धर्मराज गिरीले एनआरएनएले नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये १८ खेलमा सहभागी हुने बताउनुभएको छ । उहाँले भन्नुभयो,‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरूको विवरण संकलन गरिरहेका छौं । राखेपले तोकेको मितिसम्म खेलाडीको नाम दर्ता गर्छौं ।’
आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यसपटक सामूहिक खेलमा सहभागिता जनाउँन लागेको हो । फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ । क्रिकेटको टिम इंग्ल्याण्ड (युके) बाट आउनेछ । यसैगरी भलिबलको टिम अस्ट्रेलिया र युकेबाट ल्याउने तयारी छ भने बास्केटबलको टिम अस्ट्रेलियाबाट आउनेछ ।
फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई दिएको र उहाँले अस्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने बताउनुभयो । एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौँ राष्ट्रिय खेलकुदका लागि आफू निकै उत्साहित रहेको बताउनुभएको छ ।
विदेशमा बसेका नेपालीलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित भएको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिनुभएको छ । खेलकुदका लागि एनआरएनएका तीन युवा उपाध्यक्ष हिमाल गुरुङ, राज रेग्मी र रोशन थापासहित संयोजकहरू अब्दुल बसिद र रवीन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरूसँग समन्वय गरिरहेको कार्यवाहक सदस्य–सचिव गिरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्