जनता टाइम्स

१६ असार २०७९, बिहीबार १९:२८

सुदूरपश्चिममा सत्ता पक्षकै सांसदहरुको विरोधपछि तेस्रो पटक संसद स्थगित


कैलाली, १६ असार । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथिको छलफल अझै प्रारम्भ हुन सकेको छैन । सत्तारुढ गठबन्धनमा बजेटको विरोध भएपनि आज बेलाइएको बैठक पनि बस्न सकेन । कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्षकै सांसदहरूले आक्रोश व्यक्त गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालसम्मको लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

उहाँले अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो । बैठकमा एमाले उपस्थित भएको थिएन । सत्ता पक्षकै सांसदहरूले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । यसअघि असार ८ र १२ गते पनि प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल हुने कार्यसूची थियो ।

तर, सत्ता पक्ष र विपक्षका सांसदहरूले बजेट संशोधन नहुँदासम्म छलफल हुन नसक्ने अडान लिएपछि बैठक आजका लागि सारिएको थियो । बैठकमा सहभागी अधिकांश प्रदेश सांसदहरूले बजेट यथास्थितिमा पारित गर्न नसकिने बताएपछि बैठक बस्न नसकेको हो ।