जनता टाइम्स

३१ असार २०७९, शुक्रबार ०५:४५

१२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई


काठमाडौं, ३१ असार । लुम्बिनी प्रदेशले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बनेको हो ।दोश्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य हात पार्यो ।

तेश्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जित्यो । ५० स्वर्णका लाग भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५–५ स्वर्ण हात पारे । गण्डकीले थप समान ११–११ रजत र कांस्य पनि प्राप्त गर्यो ।

स्वर्णका अलावा कर्णालीले १० रजत र १५ कांस्य हासिल गर्यो । प्रतियोगितामा ४ कीर्तिमान बनेको छ । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो । कुल नगद पुरस्कार राशी ९ लाख पुरस्कार ४५ हजार रुपैयाँ रहेको थियो । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।