जनता टाइम्स

२ श्रावण २०७९, सोमबार १६:५७

तराईका बजारमा हरियो पहिरन किन्नेको चहलपहल


सप्तरी, २ साउन । सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाकी ४३ वर्षीया रूबी झा हिजो राजविराज बजारमा हरियो साडी किन्दै थिइन् । उहाँ परिवारका अन्य सदस्यहरूसँगै किनमेलमा व्यस्त हुनुहुन्थ्यो । उहाँका अनुसार हरेक वर्ष साउनभर हरियो पहेँलो लगाउँदा मनमा सान्ति मिल्छ । छरछिमेकका साथीहरूले पनि हरियो पहिरन लगाउने हुँदा आफूले पनि साउन महिना भरिनै हरियो पहिरनमा सजिन गरेको बताउनुभयो ।

साउनको पहिलो दिनदेखि नै तराईका साना ठूला बजारमा हरियो, पहेँलो पहिरन किन्ने किशोरी र महिलाहरूको चहलपहल बढेको छ । झाले पनि घरपरिवारका सबै महिलाका लागि हरियो चुरा, पोते, टीका किनेको बताउनुभयो । सप्तरी राजविराज नगरपालिका–७ की २० वर्षीया पार्वती यादवले पनि हरियो चुरा र टीका किन्नुभयो ।

साउन लागि सक्यो । सम्झना भएदेखि प्रत्येक वर्ष साउनको सुरूवातसँगै हरियो पहिरन लगाउँदै आएको र यसपालि पनि किनेर ल्याएको उहाँले बताउनुभयो । राजविराज नगरपालिका–१ की ४६ वर्षीया हेमलता चौधरीले पनि १ साउनबाटै हरियो चुरा, टीका र पोते लगाउन थाल्नुभएको छ ।

उहाँले भन्नुभयो,‘किन लगाउँछु भन्दा पनि सबैले लगाउने हुँदा आफूले पनि लगाउने गरेकी छु ।’ सबैले लगाएपछि आफूले मात्र नलगाउँदा नरमाइलो लाग्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,‘साउन महिना भगवान शिवजीक‍ो प्रिय महिना हो । शिवजीलाई हरियो रंग मन पर्ने भएकोले चारैतिर हरियाली छाउने गरी हरियो पहिरन लगाएकी हुँ ।’