जनता टाइम्स

१८ श्रावण २०७९, बुधबार १८:४७

डिजे सन्तोषले ल्याए नयाँ गीत जालेरुमाल


काठमाडौं, १८ साउन । लामो अन्तरालपछि डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गर्नुभएको छ । हिजो काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा डिजे सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भर्नुभएको छ । यस गीतको शब्द रचना टेकु कान्छाले गर्नुभएको हो । भिडियोको निर्देशन पवित्रा आचार्य (पाउला) ले गर्नुभएको हो ।

गीत सार्वजनिक कार्यक्रममा कलाकार सुनिल थापा, सरोज खनाल, गौरव पहाडी, गायिका प्रिति कौरलगाउत उपस्थित हुनुहुन्थ्यो । नेपालमा लोकगीतहरूलाई नयाँपन दिने श्रेय डिजे सन्तोषलाई जान्छ । चियाबारीमा, घरबेटी नानी, कलकत्ते काइय‍ो, मै छोरी सुन्दरीलगायत दर्जनौं नेपाली गीतलाई रिमिक्स गरेका डिजे सन्तोषले पछिल्ला डेढ दशक विदेशलाई कर्मथलो बनाउनुभएको थियो ।

अध्ययनका लागि थाइल्यान्ड गएका सन्तोष त्यसपछि हङकङमा संगीत क्षेत्रमै सक्रिय हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले नेपाली लोकसंगितको प्रवर्द्धनमा डिजे सन्तोषले गरेका प्रयासहरू प्रशंसनीय रहेको बताउनुभयो । डिजे सन्तोषको लोक संगीतप्रतिको लगाव र साधना देख्दा उहाँलाई ‘लोकदोहोरी बाबा’ भनेर सम्बोधन गर्न मन लाग्ने उहाँले बताउनुभयो ।