काठमाडौ, माघ ७। नेकपा (एमाले) का नेता आनन्द पोखरेलले आगामी निर्वाचन संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य जोगाउने निर्णायक संघर्ष भएको बताउँदै पार्टीको विजयका लागि एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।
माघ ६ गते मनोनयन दर्तासँगै देश निर्वाचनको निर्णायक मोडमा पुगेको उल्लेख गर्दै पोखरेलले यो निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई राष्ट्रको दिशानिर्देश गर्ने ऐतिहासिक अवसर भएको धारणा राख्नुभएको छ।
उहाँले वर्तमान अवस्थामा राष्ट्रियता कमजोर बनाउने, संविधानमाथि प्रहार गर्ने र जनताको भरोसा तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै यस्ता चुनौतीका बिच नेकपा (एमाले) जनताको आशा, भरोसा र संघर्षको नेतृत्वकर्ता बनेर उभिएको बताउनुभयो ।
पोखरेलका अनुसार नेकपा (एमाले) ले यस निर्वाचनलाई प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने वर्गसंघर्षको महत्त्वपूर्ण कडीका रूपमा लिएको छ । उहाँले निर्वाचनलाई अराजकता, विध्वंस र अस्थिरताविरुद्धको निर्णायक लडाइँको संज्ञा दिँदै श्रमिक, किसान, युवा, महिला र आम नागरिकको हक–अधिकार सुरक्षित राख्ने शक्ति एमाले नै भएको दाबी गर्नुभयो । ‘एमालेको जित भनेकै संविधानको जित हो, लोकतन्त्रको जित हो र राष्ट्रको उज्यालो भविष्यको सुनिश्चितता हो,’ पोखरेलले भन्नुभयो ।
उहाँले यस ऐतिहासिक घडीमा नेकपा (एमाले) को विजय अपरिहार्य रहेको जोड दिनुभयो । नेता पोखरेलले सबै नेता, कार्यकर्ता, शुभेच्छुक र सचेत नागरिकलाई आपसी एकता, अनुशासन र दृढ सङ्कल्पका साथ निर्वाचन अभियानमा जुट्न आग्रह गर्नुभयो । घर–घरमा एमालेको विचार पुर्याएर जनताको विश्वास जित्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले निर्वाचनलाई ऐतिहासिक विजयमा रूपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले ‘संविधान बचाऔँ, लोकतन्त्र जोगाऔँ, देशको भविष्य सुरक्षित गरौँ’ भन्ने आह्वान गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि नेकपा (एमाले) लाई विजयी बनाउन सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्