जनता टाइम्स

७ भाद्र २०७९, मंगलवार १६:२७

इराकको ‘कालो सुनको खानी’ भनिने तेल भण्डारमा चीनको आँखा


एजेन्सी, ७ भदौं । अफ्रिकी देशमाथि आफ्नो पकड बलियो बनाएपछि चिनले अब त्यहाँको तेलको विशाल खजानाले भरिपूर्ण इराकमा आफ्नो नजर गाढेको छ ।
चीनले ऊर्जा क्षेत्रमा मात्र नभई उत्पादन क्षेत्रमा पनि पश्चिमी मुलुकको प्रभुत्व विस्थापित गराउने प्रयास गरिरहेको छ ।

त्यो पनि जब धेरै विज्ञहरूले इराकलाई चेतावनी दिएका छन् कि पूर्वाधार–सम्बन्धित परियोजनाहरूका लागि चीनसँग साझेदारी गरे श्रीलंका जत्तिकै नराम्रो रूपमा चिनियाँ ऋणको जालमा पर्न सक्छ।

चीनको नजर अब इराकको हाल्फाया तेल क्षेत्रमा छ, जसले कालो सुन ओकल्छ । यो सम्पूर्ण क्षेत्र लगभग ३० किमी लामो र १० किमी चौडाई छ। यसमा ४.१ अर्ब ब्यारेल तेलको भण्डार रहेको अनुमान गरिएको छ । इराकमा यो तेल क्षेत्र पहिलो पटक १९७६ मा पत्ता लगाइएको थियो।

चीनले यस तेल क्षेत्रबाट दैनिक २ लाख ब्यारेल तेल निकाल्ने तयारी गरिरहेको छ । वासिङ्टनमा रहेका पश्चिम एसिया मामिलाका विज्ञ जोन क्यालाब्रेस भन्छन्, इराकमा दशकौंको द्वन्द्वपछि अहिले ठूलो मात्रामा विदेशी लगानी आवश्यक छ ।

यसमा पनि विशेषगरी ऊर्जा क्षेत्रको पूर्वाधारमा सुधार गर्नुपर्ने हुन्छ । यसैबीच, चीनको ऊर्जा भोक बढ्दै गएको छ। यही कारणले गर्दा चीनले अब आफ्नो भोक मेटाउन इराकमा नजर राखेको छ । वास्तवमा इराकको यो खजानालाई ध्यानमा राख्दै चीनले सन् २०१९ मा ‘तेलको बदलामा उत्पादन’ गर्ने सम्झौता गरेको थियो ।

चीन अहिले इराकको तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ। सन् २०२१ मा चीनले इराकबाट निर्यात हुने कुल तेलको ४४ प्रतिशत किनेको थियो।

‘चीनले इराकमा भर्खरै सुरु गरेको ’
चिनियाँ सरकारी स्वामित्वको तेल कम्पनी पेट्रोचाइनाले दक्षिणी इराकको हाल्फाया तेल क्षेत्र अन्वेषण गर्न फ्रान्सेली कम्पनी टोटल इनर्जी र मलेशियन कम्पनी पेट्रोनाससँग सम्झौता गरेको छ। इराकका लागि चिनियाँ राजदूत कुई वेईले भनेका थिए, ‘चीनले इराकमा भर्खरै सुरु गरेको छ।’

विज्ञ जोन क्यालाब्रेस भन्छन् कि चीनको नियत इराकसँगको व्यापार भन्दा बढी छ। उनले पश्चिमा मुलुकहरु विशेषगरी अमेरिकाले जस्तै चीनले पनि यस क्षेत्रमा आफ्नो प्रभाव बनाउन चाहेको बताए । इराक चीनको ऋण जाल भनिने बेल्ट एण्ड रोड परियोजनाको हिस्सा हो।

चीनको यो परियोजनाले गरिब देशहरुलाई ऋणको बोझले दबाएको पश्चिमा देशहरुले बताएका छन् । अर्कोतर्फ चीनले इराकलाई बीआरआई परियोजनाको महत्वपूर्ण सहयोगी साझेदार भएको बताएको छ ।

चीनले इराकको अर्थतन्त्रको पुनर्निर्माणमा सक्रिय रूपमा सहभागी भएको दाबी गरेको छ । चाइना फुडान युनिभर्सिटीले गरेको शोधपत्रले सन् २०१३ देखि यस वर्षसम्म इराक ऊर्जाको क्षेत्रमा बिआरआई परियोजनाको तेस्रो महत्वपूर्ण सहभागी भएको जनाएको छ । सन् २०१९ को तेलको सट्टामा निर्माण सम्झौताअनुसार चीनले इराकमा निर्माण कार्य गरिरहेको छ, त्यसको बदलामा उसले दैनिक १ लाख ब्यारेल तेल पाइरहेको छ ।

इराकका पूर्व प्रधानमन्त्री अदेल अब्देल महदीले चीनको भ्रमण गरी देशमा विद्यालय निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । चीनले अहिले इराकमा ८ हजार विद्यालय निर्माण गरिरहेको छ । इराकको नासिरिया क्षेत्रमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको विमानस्थलको काम पनि सुरु भएको छ । तर, सम्झौताअनुसार चीनले इराकी ठेकेदारबाट कच्चा पदार्थ र मजदुर लिनुपर्नेछ ।

इराकी बजार अहिले चिनियाँ सामानले भरिएको छ
इराकमा चीनको बढ्दो प्रभावको बीचमा ठूलो संख्यामा इराकीहरूले चीनसँग व्यापार गरिरहेका छन्। यति मात्र होइन, अब चीनले इराकी जनतालाई मन्डारिन भाषा सिकाउँदै छ । इराकी शिक्षक सज्जाद अल–काज्जजले भने, ‘जब म चीनबाट इराक फर्किएँ, मैले ठूलो संख्यामा मानिसहरू मन्डारिन भाषा सिक्न चाहन्छन् भन्ने पाएँ।’ तीमध्ये अधिकांश चीनबाट सामान आयात गर्ने व्यापारी हुन् ।

अहिले इराकी बजार चिनियाँ सामानले भरिएको अवस्था छ । चीनको ऋणको जालमा फसेको श्रीलंकाको हालत नाजुक छ र विश्वसामु आफ्नो झोली फैलाउनुपर्ने भएको छ । गरिब श्रीलंकाले ऋण पनि पाएको छैन । अहिले इराकलाई लिएर पनि त्यही डर व्यक्त भइरहेको छ ।