जनता टाइम्स

२७ आश्विन २०७९, बिहीबार १७:५०

नेपालका बाढी प्रभावित समुदायलाई संयुक्त राष्ट्रसंघको ४० करोड सहयोग


काठमाडौं, २७ असोज । संयुक्त राष्ट्रसंघको केन्द्रिय आकस्मिक प्रतिकार्य कोष (सीइआरएफ) ले नेपालका बाढी प्रभावित समुदायलाई ४० कारेड सहयोग ३२ लाख अमेरिकी डलर (करिब ४० करोड रुपैया) प्रदान गरेको छ । सीइआरएफले उक्त सहयोग अक्टोबर ७ का दिन नेपाललाई दिएको नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

‘कोषबाट प्राप्त उक्त रकमले राष्ट्रसंघीय निकायहरू– विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) र लैंगिक समानता र महिलाको सशक्तिकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (युएन वुमन) लाई पूर्व चेतावनी सन्देशहरु प्रवाह गर्न, नगद र वृहत राहत सामग्रीहरु खाद्य तथा गैरखाद्य सामग्री, कम इन्धन खपत गर्ने खाना पकाउने उपकरणहरु, सोलर रेडियो, लत्ताकपडा, र कानुनी तथा मनोसामाजिक परामर्श जस्ता सेवाहरु० उपलब्ध गराउन मद्दत पुर्याएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसका अतिरिक्त सरसफाइ, मर्यादित तथा स्वास्थ्य सामग्रीहरु वितरण पनि गरिएको राष्ट्रसंघको कार्यालयले जनाएको छ । महिला र सिमान्तीकृत समूहहरुमा विपद्ले पुर्याएको खास प्रकारको असरलाई पहिचान गर्दै उक्त वितरणले प्रतिकार्यका सबै चरणहरुमा उनीहरुका आवश्यकतालाई सम्वोधन गर्न कोशिस गरेको बताइएको छ ।