काठमाडौं, २९ असोज । विश्व भोकमरी मापन सूचि (ग्लोवल हंगर इन्डेक्स) मा नेपालको स्थिति छिमेकी देश भारतभन्दा राम्रो अवस्थामा रहेको छ । सन् २०२२ का लागि जारी सो इन्डेक्समा नेपालको स्थिति अन्य दक्षिण एशियाली राष्ट्रभन्दा राम्रो रहेको देखाइएको छ । दक्षिण एशियाली राष्ट्र मध्ये श्रीलंकाको स्थिति नेपालभन्दा राम्रो छ, जबकी श्रीलंका खराव आर्थिक स्थितिसँग लडिरहेको छ ।
छिमेकी देश भारत भोकमरीमा नेपालभन्दा तल छ, नेपालकोभन्दा खराव स्थिति छ, जबकी भारत बिश्वको पाँचौ बलियो अर्थव्यवस्था भएको मुलुक हो । यो तालिकामा नेपाल ८१ औं स्थानमा रहेको छ । नेपालभन्दा राम्रो अवस्था देखाइएको श्रीलंका ६४ औं स्थानमा छ भने भारतको स्थान १०७ औंमा छ । बंगलादेश ८४ औं, पाकिस्तान ९९ औं रहेको छ भने अफगानिस्तानको अवस्था भारतभन्दा खराव छ, उसले यो तालिकामा १०९ औं स्थान पाएको छ ।
ग्लोबल हंगर इन्डेक्स के हो ?
ग्लोबल हंगर इन्डेक्स (जीएचआई) विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको विस्तृत मापन र ट्र्याकिङ हो । जीएचआई स्कोर सामान्यतया कुपोषण, गम्भीर शिशु कुपोषण, अवरुद्ध वृद्धि र बाल मृत्युदर सहित चार सूचकहरूको मानमा मापन गरिन्छ।
जीएचआई को कुल १०० अंक हुन्छ, जसको आधारमा देशको भोकमरीको गम्भीरताको स्थिति देखाइएको हुन्छ । अर्थात् कुनै देशको अङ्क शून्य छ भने त्यो राम्रो अवस्थामा छ र कसैको १०० अंक छ भने त्यो निकै खराब अवस्थामा छ । भारतको स्कोर २९.१ छ जुन निकै गम्भीर श्रेणीमा पर्दछ । नेपालले यस्तो अंक १९.१ पाएको छ । नेपाल यो तालिका भोकमरीको स्थितिमा निरन्तर सुधारोन्मुख रहेको यो इन्डेक्सले देखाएको छ ।
सन् २००० मा नेपाल निकै खराव स्थितिमा थियो त्यस वर्ष जारी ग्लोबल हंगर इन्डेक्समा नेपालले ३७ .० अंक प्राप्त गरेको थियो, सन् २०७ मा यसमा सुधार भएर ३०.० अंक थियो । २०१४ मा यसमा पनि सुधार भएर २१.२ अंक प्राप्त गर्दा सन् २०२२ मा १९. १ अंक पाएको हो ।
यसबाहेक, सबैभन्दा राम्रो मानिएका कुल १७ शीर्ष देशहरू छन् जसको अंक ५ भन्दा कम छ । यी देशहरूमा चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे र चिली जस्ता देशहरू छन् । अर्कोतर्फ मुस्लिम बाहुल्य देशको स्थितिको कुरा गर्ने हो भने यूएई १८औँ, उज्वेकिस्तान २१औँ, काजाकिस्तान २४औँ, ट्युनिसिया २६औँ, इरान २९औँ, साउदी अरब ३०औँ स्थानमा छ ।













प्रतिक्रिया दिनुहोस्