पोखरा, १ कात्तिक । विभागीय त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।
पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार जयरानीले ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जितेकी हुन् ।
उनले यसअघि गत असारमा निशा चौधरीले राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । निशाले गत असारमा ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले २०१८ मा राखेको ५.४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन् ।
जारी नवौंमा उनको यो तेस्रो स्वर्ण हो । उनले यसअघि महिला ४ सय मिटर हडल्र्स र १ सय मिटर हडल्र्समा स्वर्ण जितेकी थिइन् । ५.४९ मिटर जम्प गर्दै लुम्विनीकी निशा चौधरीले रजत तथा एपिएफकी शिला चौधरीले ५.३१ मिटर जम्प गर्दै कास्य जितिन् ।
पुरुषतर्फ एपिएफका सलिम देवानले २३ वर्ष पुरानो कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । उनले ७.०६ मिटर जम्प गर्दै स्वर्ण जित्न सफल भए । यसअघि सन् १९९९ मा पाकिस्तानमा भएको स्पर्धामा कृष्ण बहादुर गिरी ७.०० मिटरको कीर्तिमान राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्