काठमाडौं, १३ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार अभियोगको मुद्दामा प्रहरीले अनुसन्धान सकाएको छ । भोली सरकारी वकिलमार्फत अदालतमा दण्ड–सजायको माग दावीसहित अदालतमा अभियोजनपत्र दायर गर्ने तयारी गरेको बुझिएको छ ।
यथेष्ट प्रमाण संकलन गरेर हदैसम्मको दण्ड–सजाय माग गरिएको प्रहरी श्रोतले बताएको छ । मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन पेश गरेपछि अदालतले सन्दीपको बयान लिनेछ र सुरु हुनेछ थुनछेक बहस । थुनछेक बहसमा दुवैपक्षका वकिलले तारेखमा छाड्ने वा जेलमै राखेर पुर्पक्ष गर्नु पर्ने विषयमा आ–आफ्नो तर्क प्रस्तुत गर्नेछन् । जघन्य फौजदारी अभियोगका मुघामा तारेखमा छुटेका घटना कमै भएकाले सन्दीपलाई पुर्पक्षका लागि जेल नै पठाइने सम्भावना अधिक रहेको कानुन व्यवसायीहरू बताउँछन् ।
एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्