पोखरा, २२ कात्तिक । गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त हुनुभएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उहाँलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पत्र पठाउनुभएको छ । तर, यसबारे मुख्यमन्त्री कार्यालयका प्रवक्ता तथा उपसचिव रामेश्वर अर्यालले आफूलाई जानकारी नरहेको बताउनुभयो । मन्त्री आचार्यको बर्खास्तगीबारे प्रदेश प्रमुख कार्यालयमा बुझ्न भन्दै उहाँ पन्छिनुभयो ।
‘मन्त्री बर्खास्तबारे मलाई जानकारी छैन,’ उहाँले भन्नुभयो, ‘यसबारे आधिकारिक धारणा आउला नि, एकपटक प्रदेश प्रमुख कार्यालयमा बुझ्नुस् न ।’ प्रदेश प्रमुख कार्यालयमा पनि बुझौँला, तर मुख्यमन्त्री कार्यालय मन्त्री आचार्यलाई बर्खास्त गरेको हो कि होइन ? तपाईं पनि आधिकारिक हो नि भन्दै प्रश्न गरेपछि प्रवक्ता अर्यालले फोन काटेर जवाफ नदिई पन्छिनुभएको हो ।
स्रोतका अनुसार मन्त्री आचार्य बर्खास्त भएको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगिसकेको छ । उहाँमाथि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेको छ । उहाँ नेपाल समाजवादी पार्टीका सांसद हो । उहाँ आगामी निर्वाचनमा पनि उम्मेदवार हुन चाहेको बुझिएको छ । तर पार्टीले टिकट नदिएपछि उहाँले बागी उम्मेदवारी दर्ता गरेर पछि फिर्ता लिनुभएको थियो । सोही कारण उहाँ सत्तागठबन्धनसँग रुष्ट हुँदै आउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्