पोखरा, साउन १७ । नेकपा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आवेगमा आएको कारण अनावश्यक बिवाद सिर्जना भएको निश्कर्ष सुनाउनु भएको छ ।
उहाँले बहशका नाममा पार्टीभित्र विग्रह हुने चिजलाई कडाईका साथ निषेध गर्नुपर्ने मान्यतासमेत सुनाउनु भएको छ । शनिबारबाट पोखरामा सुरु भएको एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठकमा बोल्दै गुरुङले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे बोल्ने क्रममा विग्रह ल्याउने चिज निषेध गरिनुपर्ने आफ्नो निश्कर्ष सुनाउनु भयो ।
पूर्वराष्ट्रपतिलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दिएमा पनि यसअघिको पदभन्दा राम्रो काम गर्न सक्ने अवस्था नरहेकाले अव पूर्वराष्ट्रपतिले रहर गर्न नहुने गुरुङको भनाइ थियो । ‘उहाँ आवेगमा आउनुभयो । उहाँलाई एमालेले के दिएन ? केचाँहि दिएन र फेरि चाहना राख्ने ? उहाँलाई जे पद दियो पार्टीले त्योभन्दा अध्यक्ष दिएको, प्रधानमन्त्री दिएको भए काम गर्ने देखिन्छ ?,’ उपमहासचिव गुरुङले प्रश्न गर्नुभयो, ‘देखिँदैन भने किन रहर गर्ने ? पार्टीमा जुन चिजले विग्रह हुन्छ, त्यसलाई निषेध गर्ने हो ।’
उहाँले उमेर बढी हुँदैमा कसैले नेतृत्व गर्नुहुँदैन वा सक्दैन भन्ने विषय उचित नभएको सबिस्तार ब्याख्या पनि गर्नुभयो । व्यक्तिको उमेरभन्दा पनि उसको क्षमता र भिजन हेर्नुपर्ने गुरुङको भनाइ थियो ।
आफूले अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा आलोचना गर्ने गरेपनि आज नेतृत्वमा उहाँकै आवश्यकता रहेको पनि उपमहासचिव गुरुङले प्रष्ट पार्नुभयो । ‘केपी ओलीको आलोचना मैले जति तपाईंहरुले गर्नुभा’छ ? कामको लागि आलोचना पनि गर्नुपर्छ । तर आजको दिनमा आवश्यकता कस्को हो ? नेतृत्वमा उहाँकै आवश्यकता छ । त्यसैले आवेगमा आउने होइन, यथार्थपरक बनेर सोचौं । भोलि केपी ओलीको ठाउँमा अर्को कोही आए शेरबहादुर, प्रचण्ड, भारत, चीनले के गर्ला ? यो सबै चिजको हिसाबकिताब गरौं,’ सञ्चारमन्त्रीसमेत रहनुभएका उपमहासचिव गुरुङले भन्नुभयो ।

बैठकलाई सम्बोधनको क्रममा उहाँले कुनै पनि बहानामा पार्टी बिग्रहतर्फ जान नहुने बताउनु भयो । गुटबन्दीको समस्या समाधान गर्न आफूहरुले सोच्ने र पार्टीभित्र रहेका सबैको संरक्षण हुने पनि उहाँको भनाई थियो । आन्तरिक चुनावमा हार्नेले जित्ने र जित्नेले हार्नेलाई अस्वीकार गर्नु पार्टीभित्रको समस्या भएको भन्दै अव त्यसो हुन नदिने प्रतिवद्धता पनि गुरुङले सुनाउनु भयो ।
‘चुनावमा प्रतिस्पर्धा र व्यवस्थापन गर्ने कुरालाई हामीले ध्यान दिनुपर्छ । सहमति हुने ठाउँमा सहमति गर्ने हो । नहुने ठाउँमा सहज रुपमा प्रतिस्पर्धा गर्ने हो,’ एमाले उपमहासचिव गुरुङले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्