जनता टाइम्स

१२ श्रावण २०८२, सोमबार २३:०८

अमेरिकामै लुके माओवादीका नेता, यता पालिकामा भने बेहाल


पोखरा, साउन १२ । नेकपा माओवादीका नेता तथा कास्कीको मादी गाउँपालिका–१२ का वडाध्यक्ष कृष्णराज दाहाल अमेरिकामै लुक्नुभएको छ । चार दिनका लागि भन्दै गत बर्षको असारमा वडा सदस्यलाई कार्यबहाक दिएर हिडनुभएका माओवादी नेता दाहाल एक वर्षदेखि अमेरिकामै बसेर नफर्कनु भएको हो ।

श्रीमतीलाई डीभी परेपछि गत वर्ष असारमा वडा सदस्यलाई कार्यवाहक दिएर दाहाल काठमाडौं जाने भन्दै अमेरिका हानिनुभएको थियो । केही दिनलाई वडा बाहिर रहने भन्दै दाहालले महिला वडा सदस्य लक्ष्मी गिरीलाई ०८१ असार १६ मा कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिनुभएको थियो ।

दाहालले परिवारका सदस्य दुर्घटनामा घाइते भएकाले उपचारका लागि एक सातालाई काठमाडौं जानुपर्ने कारण देखाउनु भएको थियो । धेरै दिन काम नपर्ने र फर्किहाल्ने भनेपछि सदस्य गिरी कार्यवाह सम्हाल्न तयार हुनुभएको थियो तर दाहाल भने अमेरिकातिर हानिनुभयो ।

अमेरिका पुगेपछि दाहालले दुई महिनामा फर्कने अर्को सन्देश पठाउनु भयो । पछि फेरि ६ महिनाको समय माग्नुभयो, फेरि एक वर्षमा फर्कने भनेर अन्तिम मौका मागेपनि उतै बस्नुभएको छ । वडाध्यक्षले पटकपटक ढाँटेपछि गिरीले बाध्य भएर कार्यवाहकको जिम्मेवारी सम्हाल्न नसक्ने भन्दै गाउँपालिकाको कार्यालयमा निवेदन नै दिनुभएको छ । त्यो पनि एकपटक होइन, दुईदुई पटक । तर गाउँपालिका अध्यक्ष र कार्यपालिकाले अन्य विकल्प नभएकाले जिम्मेवारी नछोड्न आग्रह गरेका छन ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने बेला गत असारमा वडाध्यक्ष सम्पर्कविहीन रहेको विषय अन्य निर्वाचित जनप्रतिनिधिले उठाएका थिए । वडाध्यक्ष दाहालको खोजी गर्ने निर्णय भएपछि गाउँ सभाको अवरोध हटेको थियो । त्यसपछि असार १७ मा मादी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । गाउँपालिका अध्यक्ष देवीजंग गुरुङका अनुसार वडाध्यक्ष दाहालले कात्तिक दोस्रो साता नेपाल फर्कने सन्देश पठाएका थिए ।

वडाध्यक्ष दाहाल एक वर्षदेखि सम्पर्कविहीन भएपछि गाउँपालिकाले माओवादीको पालिका कमिटीलाई गत असार ५ मा पत्र लेखेको थियो । पार्टीको सम्पर्कमा भए–नभएको र उनको अवस्था जानकारी गराएर सहयोग गर्न अध्यक्ष देवीजंग गुरुङले पत्र पठाएका थिए । माओवादी मादी गाउँ कमिटी अध्यक्ष मित्रबहादुर गुरुङले वडाध्यक्ष दाहाल पार्टीलाई पनि जानकारी नगराई अमेरिका गएको पालिकालाई बताउनु भएको छ ।

वडाध्यक्ष दाहाल अमेरिका हुँदा पनि उहाँको नेपालस्थित बैंक खातामा सेवासुविधा भने दाखिला भएको छ । गाउँपालिकाको कार्यालयले उहाँ अमेरिका गएपछिको ५ महिनासम्म सात वटा शीर्षकमा करकट्टी गरेर कुल १ लाख ३३ हजार ६ सय ५० रुपैयाँ उनको खातामा पठाएको छ । गण्डकी प्रदेश सरकारले २०७७ सालमा बनाएको गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनकै आधारमा स्थानीय तहका जनप्रतिनिधिले सेवा सुविधा पाउँछन् ।

उक्त ऐनले तलब वा पारिश्रमिक भनेर एकमुष्ट सेवासुविधाको व्यवस्था गरेको छैन । ऐनले इन्धन, मोबिल, यातायात, पत्रपत्रिका तथा इन्टरनेट सुविधा, अतिथि सत्कार, अनुगमन, समन्वय र सहजीकरण, चाडपर्व, भ्रमण भत्ता, बिमाको व्यवस्था गरेको छ ।

दाहालले अमेरिका गइसकेपछि अर्थात साउनदेखि मंसिरसम्म यातायात सुविधा ७ हजार ५ सय, पत्रपत्रिका तथा इन्टरनेट १७ हजार ५ सय, टेलिफोन सुविधा १७ हजार ५ सय, अतिथि सत्कार ३० हजार, अनुगमन ३० हजार, समन्वय र सहजीकरण १२ हजार ५ सय रुपैयाँ बुझ्नुभएको छ । यसबाहेक चाडपर्व सुविधाबापत २० हजार रुपैयाँ पनि उहाँको खातामा जम्मा भएको छ । गत पुसको गाउँ सभामा अनुपस्थित भएपछि सेवासुविधा रोकिएको थियो ।