जनता टाइम्स

२ बैशाख २०८३, बुधबार १३:००

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेस–एमाले सहमतिअनुसार मन्त्री हेरफेर


काठमाडौं, वैशाख २ । गण्डकी प्रदेशका मुख्यमन्त्री  सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सहमतिअनुसार मुख्यमन्त्री पाण्डेले मन्त्री हेरफेर गर्नुभएको हो।

नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेश प्रमुख डिल्लिराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। शपथग्रहणपछि पुनर्गठित मन्त्रिपरिषद्ले औपचारिक रूपमा कार्यभार सम्हालेको छ।

नयाँ मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट जित शेरचनलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ। त्यसैगरी नन्दप्रसाद न्यौपानेलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी, रेखा गुरुङलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय तथा नम्डु गुरुङलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी नेकपा (एमाले) का तर्फबाट गोविन्दबहादुर नेपालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, यशोदा रिमाललाई उद्योग तथा पर्यटन मन्त्रालय, लक्ष्मण पाण्डेलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय तथा भीम कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार दलहरूबीचको समझदारीअनुसार सरकारलाई थप प्रभावकारी र सन्तुलित ढंगले अघि बढाउन मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताउनुभएको छ।

गण्डकी प्रदेश सरकारमा गरिएको यो पुनर्गठनलाई प्रदेशको सत्ता समीकरण, नीतिगत प्राथमिकता तथा विकास कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने कदमका रूपमा हेरिएको छ।