जनता टाइम्स

२७ कार्तिक २०७९, आईतवार १६:१९

जित्ने जति सवैलाई मन्त्री बनाउने प्रचण्डको आश्वासन


गोरखा, कात्तिक २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि नेपालमा गर्न नसकिने केही नरहेको जिकिर गर्नुभएको छ ।

चुनाव प्रचारप्रसारका क्रममा आइतबार हेलिकोप्टर चार्टर गरी आज चुमनुब्री ३ सिर्दिबासको फिलिम आइपुग्नुभएका प्रचण्डले सभामा बोल्दै आफूहरु दुई मिलेपछि नेपालमा सबै काम गर्न सम्भव हुने बताउनु भएको हो ।

‘गोरखाको विकासका निम्ति राजेन्द्र बजगाईंलाई केन्द्रमा र नन्द न्यौपानेलाई प्रदेशमा मन्त्री बनाई विकासको जिम्मा दिइनेछ। यो प्रस्ताव म शेरबहादुर देउवाजीसँग राख्नेछु, स्थानीय भेषभुषमा सजिएका प्रचण्डले सभामा बोल्दै भन्नुभयो, ‘अहिले नेपालमा शेरबहादुर देउवा र प्रचण्ड मिलेपछि नहुने केही पनि छैन।’

जनताले जिताएपछि दुवै जनालाई मन्त्री बनाउने जिम्मेवारी आफूले लिने उहाँको भनाई थियो । पछिल्लो समय जहाँ गयो त्यहीँ प्रचण्ड मन्त्री बनाउने आश्वासन बाँडदै हिडनुभएको छ ।