जनता टाइम्स

३० कार्तिक २०७९, बुधबार १९:०५

मुलुकको समृद्धिको यात्राको सारथी एमाले मात्र हो : माधव ढुङ्गेल


रामेछाप, ३० कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले अबको यात्रा आर्थिक समृद्धिको यात्रा भएको बताउनुभएको छ । नेकपा एमाले मन्थली नगरपालिका–१० चनखुले बुधबार आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै नेता ढुङ्गेलले नेपालमा राजनीतिक परिवर्तनको आन्दोलन सकिएकोले अबको आन्दोलन आर्थिक सामाजिक रूपान्तरणको भएको बताउनुभयो । ‘ मङ्सिर ४ को निर्वाचनमा बहुमत दिनुस्, आर्थिक समृद्धिको यात्रालाई नेकपा एमालेले गन्तव्यमा पुर्‍याउँछ’, ढुङ्गेलले भन्नुभयो ।

नेपाली जनतालाई जागृत गर्ने एक मात्र नेता केपी ओली
भएको उहाँले दाबी गर्नुभयो । देशको रक्षा गर्ने र विदेशीसँग आँखा जुधाएर कुरा गर्न सक्ने एक मात्र नेता केपी ओली भएको उहाँले बताउनुभयो ।

नेपालको भूमि भारतले मिचेको छ, फिर्ता हुनुपर्छ भन्ने एक मात्र व्यक्त केपी ओली भएको पनि उहाँले स्मरण गराउनुभयो । जनताको स्वाभिमान बोक्ने एक मात्र पार्टी नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो ।

मङ्सिर ४ को निर्वाचन पछि पनि गठबन्धनले सरकार बनायो भने भारतीयलाई नागरिकता दिने नागरिकता विधेयक पास हुने उहाँले बताउनुभयो । त्यस्तै देश विरोधी एमसीसी र एसपीपी सम्झौता पनि पास हुने उहाँले दाबी गर्नुभयो ।

एमालेको पक्षमा व्यापक जनमत बनेको बताउँदै ढुङ्गेलले त्यसबाट गठबन्धन तिलमिलाएको बताउनुभयो । त्यसैले ठाउँ ठाउँमा नक्कली बम राखेर गठबन्धन जनतालाई तर्साउने काममा लागेको उहाँले बताउनुभयो ।

शान्ति सम्झौतामा हस्ताक्षर गरेकै दिन कांग्रेस बनिसक्नु भएका प्रचण्डबाट अब क्रान्ति वा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने कुरा कल्पना गर्नु निरर्थक भएको उहाँले बताउनुभयो । यति कम्युनिष्ट आन्दोलनलाई जोगाउने हो भने सबै माओवादी नेता कार्यकर्तालाई एमालेमा आउन उहाँले अनुरोध गर्नुभयो ।

अबको दुनियाँमा लोकतन्त्र र अग्रगमनको विकल्प नभएको बताउँदै उहाँले शेरबहादुरले नेतृत्व गरेको कांग्रेसमा अब बीपीले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यता नभएको ढुङ्गेलले बताउनुभयो । त्यसैले बीपीले परिकल्पना गरेको लोकतन्त्र बोक्ने पार्टी पनि एमाले भएको उहाँले प्रष्ट पार्नुभयो । त्यसैले कांग्रेसका मतदातालाई पनि एमालेमा भोट हाल्न अनुरोध गर्नुभयो ।