बुटवल, १२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । कुनै दलको बहुमत नआउँदा मुलुक अस्थिरताको चक्रव्युहमा फस्ने खतरा रहेको पौडेलले बताउनुभयो ।
रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पत्रकार सम्मेलन गर्दै पौडेलले नेकपा एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास नपाउने दाबीसमेत गर्नुभयो । बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम पहल गर्ने बताउनुभयो ।
एमालेले प्रधानमन्त्रीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको र एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने उहाँको दाबी छ । ‘राजनीतिक स्थायित्व,विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएको हो, एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन,’ पौडेलले भन्नुभयो , ‘हामी जनादेशको सम्मान गर्छौं, बहुमत नआए पनि एमाले प्यासिभ भएर बस्दैन सशक्त भूमिका खेल्छ, एमालेले लिड रोल नगर्दासम्म देश अघि बढ्न सक्दैन, विकासले गति लिन सक्दैन ।’ पौडेलले मतदाताको सुझावलाई आत्मसाथ गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिबद्धता जनाउनुभयो ।
पौडेलले चुनावका बेला अस्वस्थ प्रतिस्पर्धा, आरोप प्रत्यारोप भन्दा माथि उठेर आफ्ना एजेण्डा प्रस्तुत गरेर आफूले स्वस्थ प्रतिस्पर्धा गर्ने संस्कारको सुरुआत गरेको बताउनुभयो । पौडेलले अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गर्दै आफू सबैको साझा जनप्रतिनिधि भएर कसैप्रति दूरी नराखी समदूरी राखेर व्यवहार गर्ने बताउनुभयो । पौडेलले निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सञ्चार क्षेत्रले खेलेको भूमिकाको सराहना गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्