जनता टाइम्स

२६ पुष २०७९, मंगलवार १७:४२

जिल्ला न्यायाधीशको नेतृत्वमा गाउँ-गाउँमा न्यायिक सचेतना


लमजुङ, २६ पुस । जिल्ला न्यायाधीशको नेतृत्वमा जिल्ला अदालतले न्यायमा सबैको पहुँच पुराउने उद्देश्यले गाउँगाउँमा न्यायिक सचेतना कार्यक्रम थालेको छ । न्याय र कानुनबारे समुदायलाई जानकारी गराउन लमजुङ जिल्ला अदालतले गाउँगाउँमा सचेतना कार्यक्रम थालेको हो ।

जनप्रतिनिधि, कर्मचारी र समुदाय लक्षित अभियानले प्रभावकारी न्याय सम्पादनका लागि अदालतप्रतिको आम बुझाइबारे जानकारी लिँदै सर्वसाधारणको धारणा सुनेर न्यायमा सबैको पहुँच बढाउने विषयलाई प्राथमिकतामा राखेर अभियान सन्चालन गरेको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बताउनुभयो ।

उहाँका अनुसार दुधपोखरी गाउँपालिका कार्यालय गौंडामा जनप्रतिनिधि र कर्मचारीका लागि न्यायिक समितिबाट सम्पादन हुने न्यायिक कार्यसम्बन्धी अभिमुखिकरण र अन्तरन्यायिक सार्वजनिक सम्पन्न गरिएको छ । अभियानअन्तर्गत न्यायाधीश आफै गाउँमा पुगेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट एवं अन्तरक्रिया गर्दै अदालतप्रतिको भ्रम निवारण गरेर न्यायमा सबैको पहुँच स्थापित गराउने प्रत्यन भइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रमका सहभागीले अदालतको सेवा प्रवाह, न्यायिक प्रक्रिया र अदालतप्रति समुदायको बुझाइका बारेमा जिज्ञासा राखेका थिए । विभिन्न खाले हिंसा, बलात्कार, अंश, बहुविवाह, घरेलु हिंसा, पारिवारिक बेमेल लगायतको न्यायिक प्रक्रियाका विषयमा उनीहरूको जिज्ञासा थियो ।