काठमाडौं, फागुन २१ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपति नबन्ने निणृय गरेपछि उहाँका भाई सरोजकुमार उपाध्याय निकै तनावमा रहेको तथ्य खुलेको छ ।
सो पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका उपाध्याय शनिवार संखमुलस्थित एक कफीशपको छैटौं तलाबाट हाम फाल्नुभएको थियो । उहाँको उपचारको क्रममा शनिवार नै मृत्यु भइसेको छ । कफीशप सञ्चालकका अनुसार कफी अर्डर गरेर बस्नुभइका सरोज रेष्टुरेन्टको छैटौँ तलाबाट हाम फाल्नुभएको थियो ।
काठमाडौंको शंखमुलस्थित बबिन्स कफी नामक रेष्टुरेन्टको छैटौँ तलाको झ्यालबाट उहाँ खसेको रेष्टुरेन्ट सञ्चालक रञ्जित कुमार यादवले बताउनु भएको छ । यादवका अनुसार उपाध्याय केही दिनदेखि नियमित रूपमा बिहान साढे १० बजेतिर आउने गर्नुभएको थियो ।
पारिवारिक स्रोतका अनुसार उपाध्यायले माधवलाई राष्ट्रपति बन्न निकै जोड गर्नुभएको थियो । एमालेले प्रस्ताव गरिसकेको अवस्थामा राष्ट्रपति हुन दाजुलाई पटक पटक आग्रह गरेको र नमानेपछि निकै तनावमा रहेको पारिवारिक स्रोतको भनाई छ ।
सरोज माधवका अति बिश्वासपात्र हुनुहुन्थ्यो । माधवको हरेक काममा उहाँको सहयोग रहने गरेको थियो । उहाँले एक्कासी किन यस्तो निर्णय लिनुभयो भन्ने एकिन अझै हुनसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्