जनता टाइम्स

२३ फाल्गुन २०७९, मंगलवार ०८:१२

जुरेलीले भारतीय पुरुष रेस्लरलाई माथख्वाइन


काठमाडौं, २२ फागुन । नेपाली रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सोमबार अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् ।

भक्तपुरको सल्लाहघारीमा भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित गरेकी हुन् ।

होलीको पावन अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लर अभिराज सिंहलाई हराइन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित रेस्लिङमा नेपाल ब्रोले पाकिस्तानका शेर खानमाथि जित हात पारे । रिङसम्म पुग्न नेपाल ब्रोले कार तथा शेर खानले मोटरसाइकल प्रयोग गरेका थिए । नेपालका कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) ले पाकिस्तानका अली खानलाई पाखा लगाए ।

जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । नेपालसहित भारत, पाकिस्तान र अमेरिकाका रेस्लर सहभागी प्रतियोगितामा स्कोरपियाको नामले चिनिने नेपाली रेस्लर हिक्मत थपलियले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

वि.सं. २०७१ सालमा स्थापना भएको फाउन्डेसनले पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गरेको हो ।