पोखरा, ७ असार । स्याङ्जामा एक युवतीले टिकटकमा साथी बनाएर सुन चोरी गरेको घटना सार्वजनिक भएको छ । अन्य चोरी भन्दा यो अलिकति नौलो घटना सार्वजनिक भएको देखिन्छ । अहिलेको चर्चित सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाएर भेटघाटमात्रै होइन घरमै पुगेर सुनका गहना चोरी गरेको घटना प्रहरीले सार्वजनिक गरेपछि यो कुरा बाहिर आएको हो ।
सुरुमा टिकटकमार्फत साथी बन्ने, एकअर्कालाई लाइक, कमेन्ट गर्ने, भेटघाट गर्ने, घरमै पुगेर सँगै टिकटक बनाउने र मौका परेपछि सुनको गहना चोरी गरेर बेचेको आरोपमा स्याङ्जा प्रहरीले एक जना युवतीलाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका–३ की २४ वर्षीय कुसुम बिसी छन् । विसीले सुरुमा स्याङ्जा वालिङ–६ एक्ले पिपलस्थित एक महिलालाई साथी बनाएर भेटघाट गर्न घरमै पुगेकी थिइन् । प्रहरीका अनुसार उनीहरुले सँगै मिलेर टिकटक पनि बनाएर पोस्टसमेत गरेका थिए ।
त्यसपछि घरमा गहना, दराजको चाबी लगायतको जानकारी पाएपछि औंठी र लकेट चोरेर बिसी भागेको भन्दै ती महिलाले उजुरी गरेकी थिइन् । त्यसपछि प्रहरीले बिसीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको स्याङ्जा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बिसीले सुनका गरगहना पोखराको एक ज्वेलर्समा बेचेको आरोप लगाइएको छ । हाल उनलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्