भक्तपुर, ३१ भदौं । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कक्षा १२ पास गरेपछि नै विदेश जाने अहिलेको विद्यार्थीको प्रबृतिले भविष्यमा गम्भीर संकट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासीमा शनिबार भएको एकदिने आठौ विद्यार्थी गुणीय चक्रको उदघाटन गर्दै ज्ञानको पवित्र मन्दिरको रुपमा रहेको विद्यालयलाई बन्द, हड्ताल र तालाबन्दीलगायतका अवाञ्छित गतिविधिबाट टाढा नै राख्न जरुरी रहेकोसमेत उनले बताउनुभयो ।
प्रमुख प्रजापतिले ज्ञानविज्ञानको केन्द्रको रुपमा अगाडि बढिरहेको भक्तपुरलाई शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा देशकै उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्देश्यले भक्तपुर नपाले काम गर्दै आइरहेको बताउनुभएको छ । विद्यार्थीले परीक्षामा उच्च अंक प्राप्त गर्दैमा त्यो विद्यार्थीले समाजको लागि काम गर्छ भन्ने कुरा सत्य नहुन सक्छ भन्दै उनले विद्यार्थीमा नैतिक शिक्षाको धेरै खाँचो रहेको बताउनुभयो ।
समाजलाई योगदान गर्न सक्ने जनशक्तिको खाँचो अहिले आवश्यकताबोध भएको बताउँदै उहाँले उच्च शिक्षा, रोजगारीको लागि विदेशिने सोचबाट विद्यार्थीलाई टाढा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । संघीयताको असल कार्यान्वयन भक्तपुरले गरिरहेको बताउँदै भक्तपुर नपाले समाजवादउन्मुख काम गर्दै आइरहेको र स्थानीय तहलाई नै अधिकारसम्पन्न गर्नुपर्ने धारणा उहाँले सोही अवसरमा व्यक्त गर्नुभएको छ ।
विद्यार्थी र शिक्षकहरुले पनि देशको राजनीतिप्रति चासो राख्नुपर्ने बताउँदै बौद्धिक र प्रबुद्ध व्यक्तिहरुले आफ्नो व्यक्तिगत मात्र नभई सिंगो देशको भविष्यको चिन्ता गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । कार्यक्रममा एभरेस्ट इंगलिस स्कुलका प्रअ भक्त राजभण्डारीले एस।क्यु।सीको अवधारणाले विद्यार्थीहरुमा आत्मविश्वास जागउनुका साथै आफ्ना समस्या पहिचान गरी आफै समाधान गर्ने क्षमता अभिवृद्धि गरेको बताउनुभयो ।
उहाँले स्कुलले देशभक्त अनुशासित विद्यार्थी उत्पादन गर्नेमा विशेष जोड दिँदै आएको बताउँदै एभरेष्टमा एस।क्यु।सीको गठनले धेरै उपलब्धीहरु प्राप्त भएको बताउनुभयो । सम्मेलनमा १८ वटा विद्यालयका ३३ समूह गरी दुई सय ४५ जना विद्यार्थीहरु सहभागी भएको जनाइएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, मास्टर टे«नर्स, शिक्षक प्रतिनिधिहरुसहित करिव पाँंच सय जनाको जमघट भएको स्कुलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्