जनता टाइम्स

२३ आश्विन २०८०, मंगलवार २१:५८

निसिखोला गाउँपालिका अध्यक्ष घर्ती लागुऔषध मुद्दामा दोषी ठहर


बागलुङ, असोज २३ । निसिखोला गाउँपालिका अध्यक्ष पदमा गठवन्धनबाट विजयी बन्नुभएका नेपाली कांग्रेसका सूर्य बहादुर घर्ती लागुऔषध मुद्दामा दोषी ठहर हुनुभएको छ । उहाँलाई साढे तीन वर्ष कैद सजाय हुने भएको छ । लागुऔषध गाँजा सम्बन्धी मुद्दामा दोषी ठहर भएपछि उहाँलाई सजाय हुने भएको हो ।

उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ । आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको तीन वर्ष छ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप रु ५० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले बताउनुभयो । २०७९ पुस ३ गते घर्तीलाई लागुऔषध कारोबारमा संलग्न भएकोमा दोषी ठहर गर्दै जिल्ला अदालत बागलुङले कैद फैसला सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध घर्तीले २०८० जेठ ३ मा उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिनुभएको थियो ।हाल गाउँपालिका अध्यक्ष रहनुभएका घर्ती निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ पर्नुभएको थियो । घर्तीलाई जिल्ला अदालत बागलुङले कैद फैसला गर्दा घर्ती गाउँपालिका अध्यक्षमा निर्वाचित भइसक्नुभएको थियो ।