जनता टाइम्स

९ पुष २०८०, सोमबार १२:२०

यी हुन एमालेले पहिचान गरेको मध्यपहाडका ९ समस्या (सूचीसहित)


काठमाडौं, पुस ९ । एमालेले झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्राले बसाइँसराइ, बाँझो जमिन, युवा पलायनदेखि जलवायु परिवर्तनसम्मका नौ समस्या पहिचान गरेको छ

काठमाडौं, पुस ९ । नेकपा एमालेले झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्राले यात्राका क्रममा अनुभूत गरेका पहाडका नौ समस्यालाई पहिचान गरेको छ । पहाडी गाउँबस्तीमा बसाइँसराइ ठूलो चुनौतीका रूपमा देखापरेको र यात्रा गरेका ३० जिल्लामध्ये अधिकांशको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको र कतिपय गाउँबस्ती रित्तिँदै गएको अनुभव एमालेले समस्याका रूपमा पहिचान गरेको हो ।
यी हुन नौ समस्या :

१. विद्यार्थी अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेको, खेतीयोग्य जमिन बाँझो बन्ने क्रम बढेको, गाउँमा श्रमका लागि युवाहरूको अभाव रहेको, कतिपय ठाउँमा वृद्धवृद्धाको हेरचाह गर्ने या मलामी जाने युवाको समेत अभाव रहेको भन्दै बसाइँसराइका पछाडि केही बाध्यात्मक कारण रहेको एमालेले औँल्याएको छ ।

२. ‘पछिल्लो समय ‘नेपालमा अवसर नै छैन’, ‘नेपाल बन्दै–बन्दैन’, ‘विदेशमा अवसर नै अवसर छ’ र ‘जसरी पनि त्यहाँ पुग्न पाइयो भने जिन्दगी सप्रिहाल्छ’ भन्ने भ्रामक प्रचार, प्रायोजित भाष्य, त्रुटिपूर्ण शैक्षिक प्रणाली र मनोविज्ञानले पनि युवाहरूको बाह्य आप्रवासनलाई बढावा दिइरहेको छ । यसको समाधानका लागि तत्काल पहल अनिवार्य भएको छ,’ एमालेले भनेको छ, ‘युवाहरूको विदेश प्रवासनले जटिल पारिवारिक समस्या निम्तिन थालेको हामीले देख्यौँ । वृद्धवृद्धाको हेरचाह, नानीहरूको स्याहारसुसार, हुर्काइ र पढाइ तथा महिलाको जीवनमा कतिपय जटिलता थपिएको र मनोवैज्ञानिक समस्या उत्पन्न भएको पायौँ ।’

३. उत्पादक र उपभोक्ताबीच सीधा सम्बन्ध हुने खालको वितरण प्रणाली व्यवस्था गर्ने, बिचौलियाको बिगबिगी नियन्त्रण गर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन हुने गरी आयातित खाद्य र पेयवस्तुलाई निरुत्साहित गर्ने, ठूलो मात्राको उत्पादनलाई प्रोत्साहन गर्ने, भूमि बैंकलगायत माध्यमबाट बाँझो जमिनको सदुपयोग गर्ने तथा मल, बिउ र सिँचाइमा किसानलाई प्रोत्साहन गर्ने काम गर्नु अनिवार्य देखिएको भन्दै एमालेले बैंक तथा वित्तीय संस्थाबाट किसान तथा उद्यमीलाई सहुलियतपूर्ण ऋण तथा अन्य सुविधा सुनिश्चित हुनु आवश्यक रहेको जनाएको छ ।

४. दशकौँदेखि पर्ती जमिन आवाद गरेर बसेका, तर जग्गा नापी नभएको र जग्गाधनी प्रमाणपुर्जा नपाएका कारण भूमि अधिकारबाट वञ्चित भएका हजारौँ परिवार भेटिएको, सिन्धुपाल्चोकलगायत जिल्लामा गुठी जग्गाका कारण पुस्तौँदेखि जग्गा कमाएर पनि भूस्वामित्वबाट वञ्चित भएका सयौँ परिवारका समस्या सुनिएको भन्दै एमालेले पहल लिने प्रतिबद्धता जनाएको छ ।

५. जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण पानीका मुहान सुकिरहेको, पानीको सतह घटेका कारण सिँचाइ कुलो सुक्खा हुन थालेको, बाढीपहिरोको जोखिम बर्सेनि बढ्दै गएर बस्तीहरू रित्तिएको, उत्तरतिर हेर्दा हिमालहरू तीव्र गतिमा पग्लिइरहेको देखिएको भन्दै एमालेले अनुकूलन र प्रतिरोधी क्षमता अभिवृद्धिसम्बन्धी ठोस योजना ल्याउन ढिलो भइसकेको निष्कर्ष निकालेको छ ।

६. उद्यमी व्यवसायीहरू निकै निराश र हतोत्साहित अवस्थामा देखिएको, बैंकको बढ्दो ब्याजदर, अपारदर्शी र झन्झटपूर्ण कर नीति, कर प्रशासकहरूको निर्मम व्यवहार, सरकारको भ्रष्ट र अमैत्रीपूर्ण नीतिका कारण धेरैले व्यवसाय बन्द गरेको, चलाएकाले पनि पूर्ण क्षमतामा नचलाएको र व्यवसायमा भविष्य छ भन्ने आत्मविश्वास टुटेकाले उद्यमी व्यवसायीहरूको मनोबल उँचो उठाउन आवश्यक नीतिगत र संरचनागत सुधार तत्काल हुनुपर्ने देखिएको पनि जनाएको छ ।
७. भेरी–बबई, सुनकोशी–मरिन, पुष्पलाल लोकमार्गजस्ता यस्ता क्षेत्रका रूपान्तरणकारी आयोजनाको प्रगति सन्तोषजनक नभएको निष्कर्ष एमालेले निकालेको छ ।

८. निरोगी नेपाल अभियानलाई सार्थक तुल्याउन चेतना अभिवृद्धि, बिमा र जनता रहेकै स्थानमा विशेषज्ञतासहितको सुविधासम्पन्न अस्पातालको अवधारणामा एकैसाथ शिलान्यास गरिएका तीन सय ९६ वटा आधारभूत अस्पताल अलपत्र पारिएको एमालेको ठहर छ ।

९. विकासका काममा चरम राजनीतिक पक्षपात देखा परेको भन्दै एमालेले भ्रष्टाचार, कुशासन र राजनीतिक बेथितिविरुद्ध समाजमा सार्वजनिक असन्तुष्टि देखापरेको निष्कर्ष निकालेको छ ।