रौतहट २८ फागुन । लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेको रौतहट बन आपूर्ति समिती ब्यवस्थित हुँदै गएको छ । काठ दाउराको लागी निबेदन दिएर बर्षौ कुर्नुपर्ने अवस्थाको अन्त्य भएर अब सहज रुपमा काठ दाउरा बितरण भईरहेको छ । डिभिजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्र र समिती अध्यक्ष रामाप्रवेश दास तत्माको सहकार्यमा आपूर्ति समिती ब्यवस्थित हुँदै गएको हो । ब्यवस्थित भएसँगै आपुर्ति समितिमा काठको लागी निबेदन दिएर बर्षौ कुर्नुपर्ने व्यवस्थाको अन्त भएको छ ।
अब सेवाग्राहीले घर कामको लागि निबेदन दर्ता गर्नासाथ कार्वाही प्रक्रिया सुरु हुने गरेको अध्यक्ष तत्माले बताउनुभयो । दैवीप्रकोप अथवा छोरीको बिहेको लागी फर्नीचर बनाउन प्रक्रिया पूरा भए हातका हात आवश्यक काठ उपलब्ध भईरहेको उहाँको भनाई छ । मधेश प्रदेश सरकार बन तथा वाताबरण मन्त्रालय बाट गत साउन १८ गते लोकतान्त्रीक समाजबादी पार्टीको सिफारिसमा कटहरिया नगरपालिका–२ जमुनियाका रामाप्रवेश दास तत्मा जिल्ला बन पैदावार आपूर्ति समिति रौतहटको अध्यक्षमा मनोनीत भएका थिए। हाल रौतहट आपुर्ति समिती प्रदेशमै उत्कृष्ट भएको उहाँको दाबी रहेको छ ।
दैबि प्रकोप घरमा आगलागी हुँदा प्रती परिवार ४० क्युबि सालको काठ, छोरीको बिहेमा फर्नीचर को लागि सालको ३० क्युबी साल अथवा अन्य जातको काठ हातका हात उपलब्ध गराईरहेको आपुर्ति समितिका अध्यक्ष तत्माले बताउनुभयो । त्यसैगरी साना उद्योगीहरु लाई तथा विकास निर्माण, बिद्यालय, धर्मशाला, मठ मन्दिर, अस्पतालमा फर्नीचर निर्माणका लागि १५० क्युबि, घरकाजमा ७० क्युबि काठ बितरण भईरहेको अध्यक्ष रामाप्रवेश दास तत्माले बताउनुभएको छ ।
बिगतमा काठको लागि निबेदन दिएर तिन चार बर्ष कुर्नुपर्ने अवस्था थियो अहिले त्यो अवस्थाको अन्त भएर आवश्यकता अनुसारको काठ हातका हात बितरण भईरहेको अध्यक्ष तत्माले दाबी गर्नुभएको छ । गत मंसिर देखि काठ बितरणको लागी स्थलगत निरीक्षण पश्चात १२ सय सेवाग्राही लाई काठ उपलब्ध गराउननाम निस्केको छ, आगामी वैशाख महिना भित्र थप ८०० सय सेवाग्राहीको नाम निकाल्ने लक्ष्यका साथ काम अगाडी बढेको उहाँले सुनाउनुभयो । बिगतमा लथालिङ्ग हुँदा उपभोक्ताले आश मारिसकेका थिए । अहिले निवेदन दिएका लाई प्रक्रिया पुर्याएर एकहप्ता भित्र काठ दिने गरिएको छ ।
१८ स्थानिय तह रहेको रौतहटमा चन्द्रनिगाहपुर स्थित आपुर्ती समितिले काठ बितरण गर्दा दक्षिणी भेगका जनतालाई कठिनाई भईरहेको छ।आउँदा दिनमा थप पायक एकस्थानमा डिपो राख्ने योजना रहेको अध्यक्ष तत्माले बताउनुभयो । त्यसैगरी यस आर्थिक वर्षमा एक घर एक बिरुवा लगाउने उद्देश्यले १० लाख रुपैयाँ छुट्याएको छ । पाँच लाखको आँप लिची बिरुवा किनेर बितरण गर्ने, पाँच लाखको बिरुवा बनको नरसरीमै उत्पादन गराई बितरण गर्ने योजना रहेको तत्माले बताउनुभयो ।
डिभिजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले यस आर्थिक वर्षमा १५६ जना सेवाग्राही लाई घरकाज , दैवीप्रकोप ७८ जनालाई काठ र १३८ जना सेवाग्राहीलाई दाउरा उपलब्ध गराईएको बताउनुभयो । घरकाजमा बितरण गरिएको १० हजार ९७६ क्युबि फिट, दैवीप्रकोपमा तीनहजार १ सय साढे ७५ क्युबि फिट र ९८ चटा दाउरा बितरण बाट कुल २ करोड, १३ लाख,९२ हजार, २७८ रुपैया राजस्व संकलन गरिएको डिवीजन प्रमुख मिश्रले जानकारी दिनुभयो ।
रौतहट बन आपूर्ति समिति बिगतको भन्दा ब्यवस्थित भएको छ, हाल देखिएको केही साधनस्रोतको कमीलाई आगामी दिनमा थप ब्यवस्थित गर्ने प्रमुख मिश्रले प्रतिवद्धता जनाउनुभयो । वन आपूर्ति समितिले सही उपभोक्ताको पहिचान गरी सहज रुपमा काठ दाउरा बितरण सुरु गर्दा राष्ट्रीय तथा सामुदायिक बनमा बिगतको तुलनामा हानी नोक्सानी कम हुँदै गएको स्थानीयहरूले बताएका छन् । यसअघि घर काज अथवा फर्निचरको लागी डिवीजन बन कार्यालय रौतहटले सहज रुपमा काठ दाउरा उपलब्ध नगराउँदा बाध्य भएर स्थानीयहरु चोरी कटानी गरी साललगायत जातको काठ बनबाट ल्याउने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्