जनता टाइम्स

२४ चैत्र २०८०, शनिबार २०:०९

एमाले उम्मेदवार सुहाङलाई अर्काे दलको पनि समर्थन, दलभन्दा माथि उठेर समर्थन गर्नेका संख्या बढदै


इलाम, चैत २४ । आगामी बैशाख १५ गते हुन गइरहेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई अर्काे दलले पनि समर्थन गरेको छ ।

नेकपा माओवादी केन्द्र र एमालेको साझा उम्मेदवारका रुपमा आज मनोनयन गर्नुभएका नेम्वाङलाई नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि समर्थन गरेको हो ।

एमालेसहित तीन दलको इलाम जिल्ला समितिले शनिबार एक अपिल प्रकाशित गरी एमाले उम्मेदवार सुहाङ नेम्वाङका लागि मत मागेका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने समझदारी भएको भन्दै सुहाङका लागि तीन दलका जिल्लाका नेताले संयुक्त अपिल गरी मत मागिएको छ ।

अपिलमा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत, माओवादी जिल्ला संयोजक विजय खम्बु र नेकपाका इञ्चार्ज मौसमले हस्ताक्षर गर्नुभएको छ । तीन दलको साझा उम्मेदवार सुहाङको पक्षमा इलामका बिभिन्न सामाजिक संघ, संस्थाका अगुवाहरु पनि जुटेका छन ।

उनीहरुले इलामको भविश्य सुहाङ भन्दै बिचार वा दलभन्दा माथि उठेर सूर्य चिन्हमा मतदान गरी सुहाङलाई जिताउनु पर्ने बताएका हुन । सुहाङलाई जिताउनका लागि अभियान चलाउनेमा कांग्रेस, राप्रपा, रास्वपादेखि अन्य दलका अगुवासमेत रहेका छन ।