जनता टाइम्स

८ असार २०८२, आईतवार १५:०१

एमाले वाग्मतीले गर्‍यो आर्थिक सुधारका लागि २५ बुँदे प्रतिबद्धता


काठमाडौं, ८ असार । नेकपा एमाले वाग्मती प्रदेश कमिटीको आयोजनामा  काठमाडौंमा सञ्चालन गरिएको आर्थिक परिचालन तथा लेखा व्यवस्थापन प्रशिक्षण कार्यक्रमका सहभागीले २५ बुँदे साझा प्रतिबद्धता जनाएका छन् ।

नेकपा एमाले केन्द्रीय लेखा आयोग अध्यक्ष डा पुष्प कँडेलको प्रमुख आतिथ्यता प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा सहभागी नेकपा एमाले वाग्मती प्रदेश कमिटी र अन्तर्गतका जिल्ला कमिटीहरू तथा महानगर कमिटी र उपमहानगरपालिका कमिटीको सामूहिक प्रतिबद्धताका रूपमा सो घोषणा गरिएको नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न र एमालेलाई राष्ट्रिय निर्णायक शक्तिको रूपमा स्थापित गर्नको लागि पार्टीको प्रदेश, जिल्ला, महानगर र उपमहानगरपालिकाले कमिटीहरूको आर्थिक काम र लेखा व्यवस्थापनलाई चुस्त, दुरुस्त, स्वच्छ, पारदर्शी, जबाफदेही र सुदृढ बनाउन सामूहिक प्रतिबद्धता गरेको लामाले बताउनुभयो ।

आर्थिक परिचालन तथा लेखा व्यवस्थापनको काम पार्टीको सांगठनिक कामको एक अङ्ग भएकोले यसलाई व्यवस्थित, सुदृढ र पारदर्शी बनाउन सकेमा मात्र पार्टी कमिटीलाई सहजतापूर्वक सञ्चालन गर्न र समग्र नेतृत्व विकासमा सहयोग पुग्ने कुरामा सहभागीको एकमत रहेको छ । यसले पार्टी पंक्ति र आमजनताको विश्वास बढ्छ भन्ने कुरामा सहभागीहरू एकमत भएका छन् ।

पार्टीका सबै कमिटीका लेखा परीक्षणको काम सम्पन्न गराई पार्टी दोस्रो विधान महाधिवेशन अगावै अन्तिम लेखा परीक्षण सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरिएको छ । ऋणमा रहेका पार्टीका कमिटीले ऋण रकम कमिटीबाट अनुमोदन गराउने र विशेष ऋण मोचन कार्ययोजना बनाई यो आउने आर्थिक वर्ष भित्र ऋणमुक्त हुने प्रतिबद्धता जनाइएको छ ।

आर्थिक श्रोतको अधिकतम परिचालन गरी मितव्ययी र प्रभावकारी रूपमा खर्च गर्ने योजना बनाई आगामी दिनमा हुने अधिवेशनहरू आर्थिक रूपमा घाटा नहुने र नयाँ बन्ने कमिटीलाई निवर्तमान कमिटीको थप आर्थिक बोझ नहुने गरी सम्पन्न गर्ने प्रतिबद्धता सहभागीले व्यक्त गरेका छन् । पार्टीको वार्षिक कार्ययोजनासँग मेल खाने गरी कमिटीहरूको आवश्यकता अनुसार गतिविधिहरू समेटेर वार्षिक कार्यक्रम र सोही अनुसार वार्षिक बजेट बनाई कमिटीबाट अनुमोदन गराई कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।

आम्दानीका श्रोत पहिचान गरी योजना बनाई अधिकतम परिचालन गर्ने र खर्चलाई यथाशक्य मितव्ययी बनाई कमिटीलाई कसैको मुख ताक्न नपर्ने गरी आत्मनिर्भर बनाउने प्रतिबद्धता पनि नेताहरूले जाहेर गर्नुभएको छ । पार्टी विधान र नियमावली अनुसारको सदस्यता शुल्क र कमिटीले तोकेको लेबी नियमितमा रूपमा उठाउने र नतिर्ने पदाधिकारीहरू तथा सदस्यहरूको बैठकबाट अनुमोदन गरी बक्यौताको अभिलेख दुरुस्त राख्ने निर्णय भएको छ ।

बक्यौता हुने पदाधिकारीहरू तथा सदस्यहरूले कमिटीको कुनै पद तथा संसदीय निर्वाचनमा उम्मेदवार हुन नपाउने साथै निजलाई कुनै लाभको पदमा नियुक्तिको लागि सिफारिस नगर्ने पार्टी नीतिको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।

प्रदेश, जिल्ला, महानगरपालिका र उपमहानगरपालिका कमिटीका अधिवेशन तथा जनसंगठनहरुको सम्मेलनमा केन्द्रीय लेखा आयोगले तोकेको ढाँचामा आर्थिक प्रतिवेदन तयारी गरी पेश गर्ने र अनुमोदन गराउने प्रतिवद्धता सहितको निर्णय भएको छ ।

साथै कमिटीको सम्पूर्ण आर्थिक कारोबार बैङ्क मार्फत गर्ने र नगद कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । अधिवेशन हुने वर्ष अधिवेशनमा र अरू वर्ष कमिटीको पूर्ण बैठकमा लेखा परीक्षक मार्फत अन्तिम लेखा परीक्षण प्रतिवेदन पेश गर्न लगाई अनुमोदन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।

कमिटीको नियमित बैठकमा अघिल्लो बैठकदेखिको आम्दानी र खर्चको विस्तृत विवरण पेश गरी अनुमोदन गरी आर्थिक कारोबारको पारदर्शिता र विश्वसनीयता कायम गर्ने प्रतिबद्धता नेताहरूको छ ।

कमिटीमा जिम्मेवारी हेरफेर हुँदा वा नयाँ कमिटी निर्वाचित हुँदा केन्द्रीय लेखा आयोगले तोकेको ढाँचामा लिखित बरबुझारथ गर्नु पर्ने, बरबुझारथ नगरिएको हिसाब बरबुझारथ नगर्ने पदाधिकारी तथा सदस्यको नाममा बक्यौता रहने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

कमिटीको वित्त तथा कोष व्यवस्थापन विभागलाई पूर्णता दिई थप क्रियाशील बनाउने र आर्थिक व्यवस्थापनको कामको मूल जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरिएको छ । लेखा कमिटीलाई परिभाषित काम गर्न र सक्रिय हुन आवश्यक सहयोग गर्ने तथा लेखा कमिटी नबनेका पालिकाहरूमा सम्बन्धित पालिका कमिटीको पूर्ण बैठकले लेखा कमिटी गठन गरी क्रियाशील गर्न पालिका कमिटीलाई निर्देशन गर्ने निर्णय भएको छ ।

आउने आर्थिक वर्षदेखि कमिटीको आर्थिक कारोबार पार्टीको सफ्टवेयर प्रणाली प्रयोग गरी पूर्णत कम्प्युटरकृत गर्न लागि पूर्वतयारीका काम र आवश्यक स्रोतको व्यवस्था गरिने भएको छ । जिन्सीको लेखा व्यवस्थित राख्ने र सामान तथा सेवाको खरिद प्रक्रियालाई पारदर्शी बनाइने भएको छ । आम्दानी र खर्च प्रणालीलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाइने भएको छ । लेखा आयोगबाट जारी हुने नीति, नियम, विनियम तथा निर्देशनहरूको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कमिटीको कुनै सम्पत्ति, लगानी वा दायित्व भए त्यसलाई कमिटीको बैठकमा जानकारी गराई अनुमोदन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । वित्तीय अनुशासनको परिपाटीलाई आफूमा संस्थागत गर्दै मातहतका कमिटीहरूमा पनि क्रमशः समृद्ध बनाउँदै लैजाने प्रतिवद्धतापत्रका उल्लेख छ ।

पार्टीलाई विशेष आर्थिक योगदान गर्नेहरूको अभिलेखीकरण गर्नुका साथै सम्मान गर्ने, कार्यकर्ता संरक्षण कोष तथा विपद् व्यवस्थापन कोष सबै कमिटीहरूमा स्थापना गरी कार्यविधि बनाई कार्यान्वयन गर्ने, विभिन्न प्रतिष्ठान तथा व्यक्तिहरूको नाममा रहेको चल अचल सम्पत्तिलाई सकेसम्म पार्टी मातहतमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

पार्टी कमिटीको स्कुल विभागले वर्षमा १ पटक आर्थिक स्रोत पहिचान तथा परिचालन र लेखा व्यवस्थापन प्रशिक्षण आयोजना गरी बित्त तथा लेखा व्यवस्थापनमा संलग्न मानव स्रोतको क्षमता अभिवृद्धि गर्ने तथा आगामी ३ वर्षभित्रमा आफ्नै भवन नभएका कमिटीहरूले जग्गा तथा भवन खरिद वा निर्माण कार्ययोजना बनाई आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।