काठमाडौं, ९ जेठ । नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई हराएको छ ।
पोखराको कभर्ड हलमा हिजो भएको खेलमा ३ भारतीय खेलाडी सम्मिलित मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले ३–० ले हराएको हो । यस्तै पुरुषतर्फ हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हरायो ।
यसैगरी हिजै भएको खेलमा पाकिस्तानी खेलाडी सम्मिलित गण्डकीले कोशी प्रदेशलाई ३–१ ले हराएको थियो । अर्को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।
हिजै महिलातर्फ एभरेस्ट भलिबल क्लब र एपीएफले पनि विजयी शुरुवात गरेका छन् । एभरेस्टले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको थियो । यस्तै एपीएफ क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
नेपाल भलिबल सङ्घको आयोजनामा एक हप्तासम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । सबैले एकअर्कासँग खेलेपछि अङ्क तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्