जनता टाइम्स

२ आश्विन २०८२, बिहीबार ०९:१८

नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ–दुर्गा प्रसाईं


काठमाडौं, २ असोज ।  मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै भदौ २३ र २४ गतेका हिंसात्मक घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ। प्रसाईंले आफू र आफ्नो अभियानका सदस्यहरू सो आन्दोलनमा संलग्न नरहेको स्पष्ट पार्नुभएको छ।

मेयर बालेन शाहले आउनु पर्दैन भनेकाले सहभागिता नगरेको उहाँले बताउनुभएको छ। आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र सरकारी सम्पत्तिमा आक्रमणलाई उहाँले दुःखद बताउँदै घटनाको जिम्मा वास्तविक संलग्न पक्षले लिनुपर्ने बताउनुभएको छ। उहाँले आफूहरूलाई ‘राजावादी’ भनेर आरोप लगाइएकोमा आपत्ति जनाउँदै आफूहरू राष्ट्रवादी भएको स्पष्ट पार्नुभयो। विगतका राजनीतिक घटनाक्रमलाई जोड्दै प्रसाईंले नेपालमा पश्चिमी प्रभाव र षड्यन्त्र सक्रिय रहेको दाबी गर्नुभयो उहाँले यस्तो गतिविधिको अन्तिम उद्देश्य नेपाललाई भूराजनीतिक खेलमा प्रवेश गराई अस्थिर बनाउनु रहेको आरोप लगाउनुभयो ।

प्रसाईंले राष्ट्र, धर्म र नागरिकको सुरक्षाका लागि सबै राष्ट्रवादी शक्तिहरू एकजुट भई वैदिक सनातन धर्मसहितको हिन्दु अधिराज्य नेपालको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ। साथै, उहाँले राजाले पनि राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

www.facebook.com/watch/?v=4389276377975585