काठमाडौं, असोज २६ । इजरायल–हमास युद्धविराम लागू भएसँगै गाजामा रहेका बाँकी बन्धकहरू केही समय भित्र मुक्त हुने अपेक्षा गरिएको छ। टाइम्स अफ इजरायलले ११ अक्टोबर २०२५ मा प्रकाशित गरेको विवरण अनुसार, यस चरणमा नेपाली विद्यार्थी विपिन जोशीसहितका बन्धकहरूको रिहाइ हुने आशा पलाएको उल्लेख गरिएको छ।
इजरायलले यस बन्दी आदानप्रदान सम्झौताअन्तर्गत करिब २ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको जनाएको छ। यो युद्धविराम शुक्रबारदेखि लागू भएको हो । जसले करिब दुई वर्षदेखि जारी द्वन्द्वका बीचमा आशाको किरण जगाएको छ।
नेपाली कृषि विद्यार्थी विपिन जोशीलाई ७ अक्टोबर २०२३ मा हमास समूहले इजरायलको दक्षिणी क्षेत्रमा रहेको किबुट्ज अलुमिमबाट बन्धक बनाएको थियो। उहाँ त्यस बेला गाजा सीमामा रहेको उक्त कृषिक्षेत्रमा काम र अध्ययनका लागि विद्यार्थी आदान–प्रदान कार्यक्रममा सहभागी हुँदै इजरायल पुग्नु भएकाे थियाे ।
आक्रमण हुनुभन्दा एक महिना मात्र अघि नेपालबाट इजरायल पुग्नुभएका विपिन जोशी १७ जना नेपाली विद्यार्थीको टोलीमा सहभागी हुनुहुन्थ्याे। उक्त आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने जोशी घाइते हुँदै बन्धक बनाइनु भएकाे थियाे।
प्राप्त जानकारी अनुसार विपिन जोशीले आक्रमणको समयमा लुकेको आश्रयस्थलबाट आत्मरक्षाका लागि केही नपड्किएका ग्रिनेड फ्याँक्नु भएकाे थियाे। त्यस क्रममा जाेशी आफैँ घाइते भए र त्यसपछि हमास समूहको नियन्त्रणमा पर्नु भएकाे थियाे।

यसै साताको सुरुवातमा विपिन जोशीको एउटा पुरानो भिडियो सार्वजनिक भएको थियो । जुन २०२३ अक्टोबर ७ को आक्रमणपछि केही समयमै खिचिएको बताइएको छ। भिडियोमा उहाँ जीवित अवस्थामै देखिनुभएको थियो, जसले परिवारमा पुनः आशा जगाएको छ।
विपिन जोशीकी १७ वर्षीया वैनी पुष्पा जोशीले पछिल्ला दुई वर्षदेखि दाइको रिहाइ सुनिश्चित गर्न सरकारी निकायहरूमा निरन्तर निवेदन गरिरहनु भएको छ। उहाँले पश्चिमी नेपालको घरबाट नियमित रूपमा काठमाडौँ पुगेर सरकारी अधिकारीहरूसँग भेटघाट गर्दै बिपनकाे रिहाइकाे लागि पहल गरिदिन अनुराेध गर्दै आउनु भएकाे छ ।
गत अगस्टमा बिपिनका आमा र बहिनीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति इसहाक हर्जोगसँग भेट गर्नु भएकाे थियाे। उहाँहरूले तेल अविभको होस्टेज स्क्वायरमा अन्य बन्धकका परिवारहरूसँगै प्रदर्शनमा पनि सहभागी भएर आफ्ना प्रियजनहरूको रिहाइका लागि आवाज उठाउनुभएकाे थियाे
इजरायल र हमासबीचको पछिल्लो सहमति अनुसार बन्धक विनिमय प्रक्रिया युद्धविराम लागू भएको ७२ घण्टाभित्र सम्पन्न गरिने भनिएको छ। नेपाली पक्षले पनि विपिन जोशीसहित सबै बन्धकहरूको सकुशल फिर्तीको आशा व्यक्त गरेको छ।
नेपाल सरकारले घटनाको प्रारम्भदेखि नै जोशी परिवारसँग सम्पर्क राख्दै आएको छ। परराष्ट्र मन्त्रालयका अनुसार युद्धविरामको कार्यान्वयन र बन्धक विनिमयको अवस्था नजिकैबाट निगरानी भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्