जनकपुर, चैत २८
विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) महामारीको समयमा प्रदेश–२ सरकारले किसानको व्याज तिर्ने भएको छ । लकडाउनु पछि किसानले बैंक, वितिय संस्था वा सहकारी संस्थाबाट लिएको ऋणको व्याज प्रदेश सरकारले चुक्ता गर्ने भएको हो । प्रदेश २ को प्रमुख आम्दानीको स्रोत कृषि भएको र हाल कोरोनाका कारण कृषिमा परेको प्रभावले चार ४ महिनाको व्याज प्रदेश सरकारले चुक्ता गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषद्को बैठकले कृषि कर्मको लागि किसानहरुले पाँच लाखसम्म लिएको ऋणमा अधिकत्तम १२ प्रतिशतसम्म ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने भएको छ । ५ लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशत व्याजदरमा ५० प्रतिशत, १५ देखि ३० लाख सम्मको ऋणमा ४० प्रतिशत र ३० लाख भन्दा बढीको ऋण कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा सरकारले तिर्ने भएको छ। यसका अतिरिक्त दूध, फलफूल, तरकारी, कुखुरा तथा माछामा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै कोरोनाविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिनेलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई एकमुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताउनुभयो । बैठकले उपचारकार्यमा संलग्न निजामति वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीलाई कोरोनाको सक्रमण भई मृत्यु भए ५० लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । यस समयमा अहोरात्र खटिएका नेपाल प्रहरीको मनोबल उच्च राख्न न्युन्तम आवश्यकता पूर्ति गर्दै प्रदेशका जिल्ला प्रहरी कार्यालयलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्