जनता टाइम्स

५ फाल्गुन २०७७, बुधबार २०:३८

दोषी पक्राउ परेपछि स्थानीयले गरे प्रहरीलाई फूलमालासहित बिदाइ


बैतडी, फागुन ५ । किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा दोषी पक्राउ गर्न सफल भएको भन्दै गाउँपालिका र स्थानीयवासीले सुदूरपश्चिप्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहित अनुसन्धानमा खटिएका प्रहरीलाई फूलमाला लगाएर बिदाइ गरेका छन ।

भागरथी हत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, केन्द्रीय अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीलगायत हुनुहुन्थ्यो । घटना भएको प्रहरीले १३ दिन लामो अनुसन्धानपछि दोषी पक्राउ परेको भन्दै स्थानीयवासीले आज डिआइजी सुवेदीसहित प्रहरी अधिकृतलाई फूलमाला लगाएर बिदाइ गरेका हुन ।

घटनाको अनुसन्धान गर्न डीआईजी सुवेदीसहितका प्रहरी रातदिन निरन्तर अनुसन्धानमा खटिएर दोषी पत्ता लगाएकोमा गाउँपालिका र स्थानीयवासीले फूलमाला पहिर्याएर प्रहरी टोलीलाई बिदाइ गरेको दोगडाकेदार गाउँपालिका–३, का वडा अध्यक्ष चन्द्रदेव जोशीले जानकारी दिनुभयो । भागरथी हत्या आरोपमा प्रहरीले मङ्गलबार राति गाउँकै दिनेश भट्टलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टे बस्ने किशोर दिनेश भट्ट भागरथीसँगै सनातनधर्म माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन ।

प्रहरीका अनुसार विद्यालयबाट घर फर्कदा किशोरले भागरथीको बलात्कार र हत्या गरेका थिए । पारिवारिक रिसईवीका कारण उनको हत्या गरेको अभियुक्तले स्वीकार गरिसकेका छन ।
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकी थिइन । उनको शव भोलिपल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलमा फेला परेको थियो ।