पोखरा, जेठ ५ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएका मुख्यमन्त्री गुरुङले आज पाँच मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।
मुख्यमन्त्री गुरुङले यसअघिको सरकारमा एमालेबाट सहभागी मन्त्रीलाई नै दोहोर्याउनु भएको छ । अघिल्लो सरकारका अर्थमन्त्री किरण गुरुङ, भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, सामाजिक बिकाशमन्त्री नरदेवी पुन र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल र युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गेलाई पुनः मन्त्री नियुक्त गरिएको छ । कार्यबिभाजनमा भने किरण गुरुङलाई अर्थ मन्त्रालय र मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मा दिई बाँकी मन्त्री भने विनाविभागिय मन्त्री तोकिएको छ । बिनाबिभागीय मन्त्रीहरुको जिम्मेवारी केही दिनमा टुङ्गो लगाइने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
कोभिड संक्रमित भएर होम आइसोलेसनमा रहनुभएका मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद गठनको बिषयलाई लिएर सोमबार रामशरण बस्नेत, किरण गुरुङ र मायानाथ अधिकारीसँग छलफल गर्नुभएको थियो । नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख सीता पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । खेलकुदमन्त्री मनाङ्गे भने काठमाडौं रहेको कारण आज शपथग्रहणमा सहभागी हुनुभएन । मनाङमा कोरोना संक्रमितका लागि स्वास्थ्य सामाग्री जुटाउन काठमाडौं रहेको कारण आजको शपथग्रहणमा सहभागी हुन नसक्ने जानकारी उहाँले मुख्यमन्त्रीलाई गराउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्